काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति सरकार वा दल परिवर्तनसँगै बदलिन नहुने बताएका छन्।
पदभार ग्रहणपछि बोल्दै उनले नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशका लागि सन्तुलित र स्थिर नीति आवश्यक रहेको स्पष्ट पारे। उनले भारत, चीन र अमेरिकासँग सम्बन्ध व्यवस्थापन सन्तुलित ढंगले अघि बढाइने बताए।
खनालले संविधानले निर्देशित परराष्ट्र नीतिलाई निरन्तरता दिँदै त्यसलाई अझ स्पष्ट र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे। साथै, द्विपक्षीय तथा बहुपक्षीय सम्बन्ध बलियो बनाउने र नेपाललाई शान्तिको पक्षधर देशका रूपमा स्थापित गर्ने उनको भनाइ छ।
उनले परराष्ट्र मन्त्रालयलाई डिजिटल बनाउने, कन्सुलर सेवा सहज बनाउने र आर्थिक कूटनीतिमा जोड दिने योजना अघि सारेका छन्। विदेशमा रहेका नेपालीको सेवा सहज बनाउने र लगानी भित्र्याउनेमा पनि ध्यान दिने बताएका छन्।
खाडी क्षेत्रमा देखिएको तनावका कारण त्यहाँ रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखिएको उनले बताए। आवश्यक परे कूटनीतिक पहलमार्फत सुरक्षा सुनिश्चित गरिने उनको भनाइ छ।





























प्रतिक्रिया