ओली पक्राउविरुद्ध देशभर सडकमा उत्रदैं एमाले

ओली पक्राउविरुद्ध देशभर सडकमा उत्रदैं एमाले

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीपछि नेकपा एमाले अब औपचारिक रूपमा देशव्यापी आन्दोलनको तयारी गरेको छ। पार्टीले आइतबार देशभर विरोध प्रदर्शन गर्ने घोषणा गर्दै सरकारविरुद्ध दबाब बढाउने रणनीति लिएको हो । आज मध्याह्न १२ बजे प्रदर्शनसहित देशभरका जिल्ला प्रशासन कार्यालय पुगेरं प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम एमालेले तय गरेको छ ।

पार्टीभित्रको आन्तरिक छलफल र सचिवालय बैठकपछि एमालेले कानुनी लडाइँसँगै सडक संघर्षलाई पनि समानान्तर रूपमा अघि बढाउने बताएको छ । त्यसअनुसार आज विभिन्न जिल्ला, सहर र प्रमुख चोकहरूमा कार्यकर्ता उतार्ने तयारी गरिएको जनाइएको छ ।

एमाले नेतृत्वले ओलीको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध” को रूपमा चित्रण गर्दै त्यसको प्रतिवाद अपरिहार्य भएको निष्कर्ष निकालेको छ । यही सन्दर्भमा जनसंगठनहरूलाई समेत सक्रिय पार्दै प्रदर्शनलाई व्यापक बनाउने योजना बनाइएको छ ।

हिजोदेखि नै राजधानीका विभिन्न स्थानमा छिटपुट प्रदर्शन देखिएको भए पनि आजको कार्यक्रमलाई भने ‘संगठित र देशव्यापी’ बनाउने लक्ष्य राखेको छ । यस्तै कानुनी मोर्चा पनि समानान्तर रूपमा अघि बढाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने तयारी गरिरहेको छ ।

आन्दोलनलाई चरणबद्ध रूपमा चर्काउने रणनीति बनाइएको युवा संघका नेता अर्जुन निर्जन पौडेलले जानकारी दिएका छन् ।

Logo