मध्यरातमा जब गृहमन्त्री गुरुङले भावुक हुँदै डा. शर्मालाई अंगालो मारे…

मध्यरातमा जब गृहमन्त्री गुरुङले भावुक हुँदै डा. शर्मालाई अंगालो मारे…

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । मध्यरातमा गृहमन्त्री सुदन गुरुङले भावुक हुँदै जब डा. सुनील शर्मालाई अँगालो मारे—त्यो क्षण कुनै एउटा सामान्य भेट नभएर, ठूलो सन्देश थियो । यस्तो सन्देश, जहाँ एकातिर गलत काम गर्नेहरू गिरफ्तार भइरहेका छन्, अर्कोतर्फ असल काम गर्नेहरू बधाइको पात्र बन्दैछन्, अर्थात् कोही गिरफ्तार अनि कोही बधाइको पात्र ।

सरकार गठन भएको दिनदेखि नै सुशासन अनि विधिको शासनका लागि भ्रष्टहरूलाई कारबाही गर्न एक्सनमा उत्रिएका गृहमन्त्री सुदन गुरुङ अहिले दिन रात नभनी आफ्नो काममा व्यस्त छन् । उनै गृहमन्त्री गुरुङ बिहीबार मध्यरातमा जेन्जी आन्दोलनका घाइते भेट्न काठमाडौं मेडिकल कलेज सिनामंगल पुगेका थिए ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक डाक्टर शर्मालाई मध्यरातमा गृहमन्त्री सुदन गुरुङले फोन गर्दै सोधे, “कहाँ हुनुहुन्छ ? तपाईंले जेन्जी आन्दोलनका घाइतेको उपचार गर्नुभएको रहेछ, म घाइतेलाई हेर्न तपाईंको अस्पताल आउँदैछु ।” त्यो वाक्य सुन्नेबित्तिकै डा. शर्मा गृहमन्त्रीभन्दा पहिले नै अस्पताल पुगे ।

केएमसीमा एक सय ५२ जना जेन्जी घाइतेको निःशुल्क उपचार भएको र अहिले पनि त्यहाँ केहीले उपचार गराइरहेको कुरा जब गृहमन्त्रीले थाहा पाए तब उनको मन झनै पग्लियो । त्यसमाथि पनि जेन्जी घाइतेको अवस्था र उनीहरूले पाएको उच्चस्तरीय उपचार देखेपछि गृहमन्त्री गुरुङले अत्यन्तै भावुक भएर आईसीयूमै डाक्टर शर्मालाई अँगालो मारे, बधाई अनि धन्यवाद दिए । अत्यन्त भावुक हुँदै गुरुङले भने, “यस्तो सत्कर्मका लागि तपाईंलाई बधाई अनि धन्यवाद ।”

गृहमन्त्री गुरुङ जेन्जीका आमाबुबाहरू, जेन्जी घाइतेहरूलाई भेट्दा निकै भावुक हुन्छन् र अंगालो मार्छन्, तर उनी राजनीतिक व्यक्तिहरूलाई कमै मात्र भावनात्मक रूपमा अंगालो मार्ने गर्छन् । तर ती विरलै पर्ने मानिसमध्ये डाक्टर सुनील शर्मा थिए, जसलाई उनले सम्मानका साथ अंकमाल गरेका थिए । यो अंगालो अनि सम्मान गृहमन्त्रीका रूपमा मात्रै नभएर जेन्जी अगुवाका रूपमा पनि थियो ।

राम्रो र असल काम गरेपछि नहुने के रहेछ ? सुनील शर्मा यस्ता पात्र हुन् जसले जेन्जी आन्दोलनका क्रममा घाइतेको निःशुल्क उपचार गर्ने घोषणा नेपाल सरकारलेभन्दा पहिले नै गरेका थिए र एक सय ५२ जना जेन्जी घाइतेको औषधिसहित निःशुल्क उपचार गरेका थिए । त्यही क्रममा अहिलेसम्म पनि केही घाइते केएमसीमा उपचार गराइरहेका छन् । जेन्जीको निःशुल्क उपचार केएमसीले मात्रै होइन, यसको भगिनी संस्था नोबलमा पनि गरिएको थियो ।

घाइतेको अत्यन्त राम्रो उपचार भइरहेको देखेपछि गृहमन्त्री गुरुङ निकै खुशी भए र भावुक हुँदै डा. शर्मालाई धन्यवाद दिए । घाइतेसँग स्वास्थ्य अवस्थाबारे सम्पूर्ण जानकारी लिइसकेपछि गृहमन्त्री गुरुङले सन्तोषको लामो स्वास फेरे अनि अस्पतालमा यसअघि उपचार गराइएका घाइतेका बारेमा पनि जानकारी लिए । कुराकानीका क्रममा गृहमन्त्री गुरुङले यस्तो सह्रानीय कार्यका लागि डा. शर्मालाई पटक–पटक धन्यवाद दिए । मन्त्री गुरुङ यतिमै रोकिएनन्, गाडी चढ्ने बेलामा समेत हात मिलाउँदै नतमस्तक हुँदै फेरि धन्यवाद दिए ।

अहिले गृहमन्त्री गुरुङ देशमा सुशासन र विधिको शासन कायम गराउन अनि आन्दोलनमा सहादत प्राप्त गर्ने तथा घाइतेलाई न्याय दिलाउन अहोरात्र खटिरहेका छन् । उनको यो खटाइ मध्यरातसम्म पनि जारी छ, र त्यही क्रममा उनी जेन्जी घाइतेको अवस्था बुझ्न केएमसीसम्म आइपुगेका हुन् । त्यहाँ घाइतेले पाइरहेको उपचार देखेपछि उनी धेरै नै खुशी र सन्तुष्ट मात्रै भएनन्, डाक्टर सुनील शर्माको काम देखेर नतमस्तक र आभारी भए ।

चुनाब हारेर पनि मानवीय सेवामा निरन्तर लागिरहेका डाक्टर शर्माको काम देखेर गृहमन्त्री पटक–पटक नतमस्तक भए । चुनाव हार्दा पनि सम्मान र आदर गर्न लायक नेताका रूपमा, राज्यले र स्वयम् गृहमन्त्रीले अस्पतालमै पुगेर यसरी भावुक भएर अंगालो मार्नुलाई सामान्य रूपमा हेरिएको छैन—र हेरिनु पनि हुँदैन, जुन महानता गृहमन्त्री गुरुङले देखाए । खराब नियत र आचरण भएका राजनीतिक व्यक्ति तथा भ्रष्टहरूलाई व्यापक धरपकड तथा कारबाही गरिरहेको समयमा, डाक्टर सुनील शर्माको कामको सराहना गर्न गृहमन्त्री गुरुङ आफैं मध्यरात नभनी अस्पताल पुगे ।

अहिले पनि जेन्जी आन्दोलनका घाइते सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा विगत एक सय ३३ दिनदेखि काठमाडौं मेडिकल कलेज सिनामंगलमा उच्च निगरानीसहित निःशुल्क उपचार गराइरहेका छन् । उनको उपचारसहित कुरुवाका लागि समेत निःशुल्क खाने–बस्ने व्यवस्था अस्पतालले गरिरहेको छ ।

Logo