काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटघाट भएकाे छ ।
नेता शाहीले सभापति लामिछानेसँगको एक तस्विर सार्वजनिक गर्दै देश निर्माणका लागि आफूहरू एकजुट भएर अघि बढ्ने उद्घोष गरेका छन्। विगतका राजनीतिक तथा व्यक्तिगत आरोह-अवरोहलाई शक्तिमा बदल्ने संकल्प गर्दै शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
“विगतका दु:खहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको छ,” शाहीले भनेका छन्, “त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेका छौं।”
भेटमा संसदीय राजनीति, प्रतिनिधिसभाको उपसभामुख पदका निम्ति सम्भावित सहकार्यलगायत विषयमा छलफल भएको बताइएकाे छ । प्रतिनिधिसभाको सभामुख पदमा रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचित भएको घोषणा भने आइतबार (चैत २२) गरिने तय छ । सभामुख र उपसभामुख एउटै दलबाट हुन नसक्ने संवैधानिक व्यवस्था छ । सभामुख वा उपसभामुखमध्ये एक महिला हुनुपर्ने पनि व्यवस्था छ ।
रास्वपाबाट सभामुख भइसकेकाले उपसभामुख अरू दलले पाउने सम्भावना छ ।































प्रतिक्रिया