काठमाडौं । सरकारले गरेको निर्णयसंगै सरकारी कार्यालयहरूको नयाँ समय तालिका आजदेखि लागू भएको छ । अब सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने भएका छन्।
सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णयसँगै कार्यालय समय पनि परिवर्तन गरेको हो।
यसअघि भएको निर्णयअनुसार सरकारी निकाय, सार्वजनिक कार्यालय र सम्बन्धित संस्थाहरू नयाँ समयअनुसार सञ्चालन हुनेछन्। शैक्षिक संस्थाहरू भने आफ्नै तालिकाअनुसार चल्ने जनाइएको छ।
त्यस्तै, जाडो मौसममा भने कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय घटाएर बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गरिनेछ।
नेपाल राष्ट्र बैंकले पनि नयाँ तालिकाअनुसार आइतबारदेखि बिहीबार बिहान ९ देखि ४ बजेसम्म र शुक्रबार ९ देखि ३ बजेसम्म सेवा दिने जनाएको छ।




















