प्रतिफल दिनेगरी भ्युटावर र सामुदायिक भवनहरु सदुपयोग गर्न सांसद कार्कीको माग

प्रतिफल दिनेगरी भ्युटावर र सामुदायिक भवनहरु सदुपयोग गर्न सांसद कार्कीको माग

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । रास्वपा सांसद नीतिमा भण्डारी कार्कीले भ्युटावर तथा भवनको उचित सदुपयोग गर्न सरकारसँग माग गरेकी छिन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले मुलुकभर निर्माण भएका तर हाल प्रयोगमा नआएका यस्ता संरचनाको पहिचान गरी तिनलाई काम लाग्ने बनाउनुपर्नेमा जोड दिइन् ।

‘अहिले आफ्नै निर्वाचन क्षेत्रमा र नेपालभर धेरै ठाउँमा भ्युटावर र प्रतिफल तथा दिगोपन विनाका भवनहरू धेरै रहेका र त्यस्ता संरचनाहरु प्रयोगविहीन अवस्थामा रहेका छन्,’ उनले भनिन्, ‘यस्ता प्रयोगमा नआएका भवनको उचित पहिचान गरी तत्काल सदुपयोगमा ल्याउनु माग गर्दछु ।’

सांसद कार्कीले अब बन्ने नयाँ पूर्वाधारको हकमा विस्तृत अध्ययन गरेर मात्र आगामी दिनमा कुनै पनि भौतिक पूर्वाधार निर्माण गर्नुअघि त्यसले दिने प्रतिफल, दिगोपन र जनताको वास्तविक आवश्यकता अध्ययन गरेर मात्र यस्ता परियोजनाहरु अगाडि बढाउन नयाँ सरकालाई सुझाव दिएकी छन् ।

सांसद नी कार्कीले प्रतिनिधिसभामा आफ्नो पहिलो सम्बोधन गर्दै सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ६ मा निर्माणाधीन अस्पताल संरचनाहरूलाई शीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन्।

उनले जानकारी दिँदै भनिन् कि पूर्व–पश्चिम राजमार्गबाट करिब १०० मिटरको दूरीमा रहेको उक्त स्थानमा १०–१५ वर्ष अघिदेखि अस्पताल निर्माणको योजना अघि सारिएको भए पनि हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। पटक–पटक काम अगाडि बढाइए पनि योजना अधुरै रहेको उनले उल्लेख गरिन्।

हाल त्यहाँ निर्माण गरिएका तीन भवनमध्ये एउटा भवन पूर्ण रूपमा सम्पन्न भइसकेको छ भने अन्य दुई भवन निर्माण सम्पन्न हुने अवस्थामा रहेका छन्। पर्याप्त पूर्वाधार तयार हुँदाहुँदै पनि सञ्चालनमा आउन नसक्नु दुःखद भएको उनले बताइन्।

सांसद कार्कीका अनुसार, उक्त संरचनालाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको थियो। साथै, अर्को भवनमा ५० शय्याको महिला तथा बालबालिका अस्पताल सञ्चालन गर्न सकिने सम्भावना रहेको छ। यी अस्पतालहरू सञ्चालनमा आएमा सर्लाही जिल्लाका साथै सम्पूर्ण मधेश प्रदेशका लाखौँ नागरिक—विशेषगरी महिला, बालबालिका तथा दुर्घटनामा परेका बिरामीहरू—प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास उनले व्यक्त गरिन्।

Logo