रिहा भएपछि अध्यक्ष ओलीले भने- सरकारले प्रतिशोध साँध्यो, मुद्दा चलाउने प्रमाण नपुगेपछि छाड्यो

रिहा भएपछि अध्यक्ष ओलीले भने- सरकारले प्रतिशोध साँध्यो, मुद्दा चलाउने प्रमाण नपुगेपछि छाड्यो

केन्द्रबिन्दु
144
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा आफूलाई नियन्त्रणमा राखेको बताएका छन् ।

१३ दिनसम्मको ‘गैरकानुनी’ हिरासतपछि रिहा भएका ओलीले एक वक्तव्य जारी गर्दै मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः सत्यको जित भएको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दै न्यायको पक्षमा उभिने कानुन व्यवसायी, न्यायकर्मी, राजनीतिक दलका नेता र सञ्चारकर्मीहरूलाई धन्यवाद दिएका छन् । सरकारले फौजदारी अभियोग लगाएर फसाउन खोजे पनि कानुनी लडाइँबाट आफू सफल भएको उनको दाबी छ।

प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता प्रकट गर्दै ओलीले आफ्नो रिहाइको माग गर्दा घाइते भएका कार्यकर्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गर्दै उनले सरकार उदासीन भएमा पार्टीले नै सम्पूर्ण उपचार खर्च बेहोर्ने घोषणा गरेका छन् ।

अहिले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउनुपर्ने जानकारी दिँदै उनले यस घडीमा सद्भाव प्रकट गर्ने सम्पूर्ण नेता-कार्यकर्ता र शुभचिन्तकहरूमा आभार व्यक्त गरेका छन् ।

Logo