काठमाडाैं । पूर्वमन्त्री सुदन किरातीले मन्त्रीहरूको बर्खास्तीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपनाएको मापदण्डमाथि प्रश्न उठाउँदै यसलाई ‘दोहोरो चरित्र’ को संज्ञा दिएका छन् ।
रास्वपाले आफ्नो वाचापत्रमा उल्लेख गरेको ‘राइट टु रिकल’ को मर्म र हालैका राजनीतिक निर्णयहरूमा देखिएको विरोधाभासलाई लिएर किरातीले सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन् ।
उनले साेधेका छन्, ‘पार्टीको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई भनिएको ‘राइट टु रिकल’ भनेको के हो? अनि यो कस-कसलाई लागू हुन्छ र कस-कसलाई लागू हुँदैन ?’ रास्वपाको विधानमा खराब प्रदर्शन गर्ने प्रतिनिधिलाई फिर्ता बोलाउन सकिने प्रावधान भए पनि व्यवहारमा त्यो नदेखिएको उनको तर्क छ।
प्रश्न उठ्ने वित्तिकै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई पद सम्हालेको दुई हप्ता नपुग्दै बर्खास्त गरेकाे रास्वपाले वर्तमान गृहमन्त्री सुदन गुरुङलाई किन कारबाही गरेन भन्ने उनकाे प्रश्न छ ।
‘लागू हुँदैन थियो भने मधेशी अनुहारका श्रम मन्त्री माननीय दिपक कुमार साहलाई सास फेर्न पनि मौका नदिई किन बर्खास्त गरियो ? अनि माननीय गृहमन्त्री सुदन गुरुङको बारेमा यो आकर्षित हुन्छ कि हुँदैन ? के एउटै कानुन जुङ्गा अनुसार लागु हुन्छ ? त्यसो भए गृहमन्त्रीको जुङ्गा कत्रो छ ? कति क्षेत्रमा फैलिएको छ ? र त्यसले कुन कुन सिमानाहरु नाघेको छ ? र मान्छेले प्रश्न उठाए जस्तै कुन-कुन शक्तिसँग त्यो जुङ्गाको जरा जोडिएको छ ?’ उनकाे प्रश्न छ ।





























प्रतिक्रिया