काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो २ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
काठमाडौं उपत्यकाका नदी किनारका अव्यवस्थित सुकुमवासी बस्तीमा शनिबारदेखि नै डोजर अभियान तीव्र रूपमा चलेको संवेदनशील समयमा यो बैठक बोलाइएको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासँगै सुकुमवासी बसोबास व्यवस्थापनको विषयमा समेत गहन छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री बालेनको प्रत्यक्ष निर्देशनमा सुरक्षाकर्मीको उपस्थितिमा थापाथली, गैरीगाउँलगायतका क्षेत्रमा अव्यवस्थित संरचना हटाउने काम भइरहेको छ । यसअघि काठमाडौं महानगरपालिकाको मेयरको हैसियतमा यस्तै अभियान अघि बढाउन खोज्दा असफल भएका बालेनले प्रधानमन्त्री बनेपछि भने संघीय सरकारको पूर्ण शक्ति प्रयोग गर्दै यो अभियानलाई तीव्रता दिएका हुन् ।
सरकारले वास्तविक सुकुमवासी र अतिक्रमणकारीबीच स्पष्ट छुट्याउने तथा प्रमाणीकरण प्रक्रिया अघि बढाउने बताएको छ । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत नै “देशभरका वास्तविक सुकुमवासीका लागि यथाशक्य चाँडो जग्गा वितरण गर्ने र यो दीर्घकालीन समस्या समाधान गर्ने” प्रतिबद्धता जनाएका छन् ।
यो बैठकले सुकुमवासी व्यवस्थापनमा सरकारको स्पष्ट रणनीति तथा तत्कालीन कदम निर्धारण गर्ने अपेक्षा गरिएको छ ।































