सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वमा आन्तरिक बढुवामार्फत परिवर्तन भएको छ । अर्थ मन्त्रालयले सहसचिव निर्मल ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ।

ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको भूमिकामा कार्यरत थिए । पूर्वमहानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई भने बिचौलिया दीपक भट्ट समूहको कम्पनीमा उनकी श्रीमतीको नाममा संस्थापक सेयर रहेको विवाद चर्किएपछि अर्थ मन्त्रालयमा तानिएको थियो ।

ठाकुरको कार्यकालमा विभागले भट्ट समूहकै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिरहेको अवस्थामा यो खुलासा भएको थियो ।

पछिल्लो समय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सरकारको नियमित कार्यसम्पादनभन्दा बढी निश्चित नेता र प्रभावशाली व्यवसायीहरूसँगको मिलेमतोमा सञ्चालित हुने निकायका रूपमा आलोचित हुँदै आएको छ ।

विभागका केही कर्मचारी तथा प्रशासनिक स्रोतहरूले विगत केही वर्षयता नेतृत्व तह र कोर टिमका कर्मचारीहरूले नै अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आएका छन् । यस्ता आरोपमाथि विभागभित्रैबाट थप छानबिन हुनुपर्ने माग समेत उठ्दै आएको छ ।

सहसचिव ढकाल विभागकै अनुभवी अधिकारी हुन् । आन्तरिक कार्यप्रणाली र सम्पत्ति शुद्धीकरणसम्बन्धी जटिल कानुनी तथा प्राविधिक पक्षमा उनको पर्याप्त ज्ञान रहेको मन्त्रालयको विश्वास छ । विचाराधीन अनुसन्धानका फाइलहरूलाई गति दिन र विभागको कार्यसम्पादन सुधार्न उनको नियुक्तिले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तर वित्तीय कारबाही कार्यदलको मापदण्डअनुसार नेपालको प्रतिबद्धता पूरा गर्नु, ठूला शंकास्पद वित्तीय कारोबारमा कडा निगरानी राख्नु, विभागलाई राजनीतिक तथा व्यावसायिक प्रभावबाट मुक्त राखेर स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने संस्थाको रूपमा स्थापित गर्नु हाल निर्मल ढकालका लागि मुख्य चुनौतीहरु छन् ।

वर्तमान सन्दर्भमा दीपक भट्ट, साहिल अग्रवाल र शेखर गोल्छासहितका व्यवसायीहरू बैंकिङ कसुर, बीमा र सेयर कारोबारमा भएको कथित बदमासीको अनुसन्धानमा रहेका बेला नयाँ महानिर्देशकले कसरी निष्पक्षता कायम गर्छन् भन्नेमा सार्वजनिक चासो छ ।

यस्तोमा विभागको साख जोगाउन र वित्तीय अपराध नियन्त्रणमा विश्वसनीयता कायम गर्न निर्मल ढकालको नेतृत्वले कडा र निष्पक्ष कार्यशैली देखाउनुपर्ने हुन्छ । यदि पुरानै शैली र प्रभावको निरन्तरता रह्यो भने विभागको विश्वसनीयता थप घट्ने र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिग्रने जोखिम छ ।

Logo