काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको हेटौँडा र काठमाडौंस्थित घर तथा उनको स्वामित्व/सम्बद्ध बानियाँ निर्माण सेवा (बीएनएस) का कार्यालयहरूमा सोमबार छापा मारेको छ।
विभागले अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाउने आशंकामा अनुसन्धान अघि बढाएको बताइएको छ । मुख्यमन्त्री बानियाँले अनुसन्धानलाई सकारात्मक रूपमा लिए पनि छापामारी शैलीप्रति आपत्ति जनाएका छन् ।
विभागको टोलीले हेटौँडा–५ सानोपोखरास्थित मुख्यमन्त्रीको निजी निवास र त्यहाँ रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेको हो । यसैगरी काठमाडौंको नक्साल र सुन्धारास्थित उक्त कम्पनीसम्बद्ध कार्यालयहरूमा पनि छापा मारेर कागजातहरू नियन्त्रणमा लिइएको छ ।

स्रोतका अनुसार, बानियाँको सम्पत्ति र कारोबारमा देखिएका केही अस्वाभाविक गतिविधिका आधारमा अनुसन्धान थालिएको थियो। छापाका क्रममा केही कागजात तथा प्रमाण संकलन गरी सर्जिमिन मुचुल्का गरिएको जनाइएको छ।
बानियाँ ‘ए’ वर्गका निर्माण व्यवसायीका रूपमा परिचित छन् । बानियाँ निर्माण सेवा प्रालिले यसअघि ठूलो रकमको बैंकिङ कर्जाका लागि रेटिङ प्राप्त गरेको थियो र कम्पनीको कारोबारमा उल्लेख्य वृद्धि भएको रिपोर्टहरू छन् । उनी नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभाको संसदीय दल नेता हुन् ।
छापा मारिएपछि मुख्यमन्त्री बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । विज्ञप्तिमा उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै प्रदेश सरकारको कार्य सञ्चालनमा खर्च कटौती र आर्थिक मितव्ययिता अपनाएको दाबी गरेका छन् ।
उनले तीन तहको सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्यको आवश्यकता औँल्याउँदै संघीय सरकारका सकारात्मक कार्यमा प्रदेश सरकारको साथ रहने प्रतिबद्धता दोहो¥याएका छन् ।































प्रतिक्रिया