काठमाडौं। जनमत पार्टीका सचेतक चन्दन सिंहसहित १० जना प्रदेश सभा सदस्यहरूले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उनीहरुले सोमबार नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन्।
मधेश प्रदेश सरकारलाई दिएको समर्थनबारे जनमत पार्टीभित्र तीव्र विवाद देखिएको छ। पार्टीका एक समूहले सरकारबाट समर्थन फिर्ता लिएको दाबी गरे पनि संसदीय दलका नेताले भने त्यसलाई अस्वीकार गरेका छन्।
द
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले भने आफूहरूले सरकारबाट समर्थन फिर्ता नलिएको बताएका छन्। उनी हाल सोही सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा छन्। उनले पार्टीभित्र कुनै औपचारिक निर्णय नभएको दाबी गरेका छन्।
जनमत पार्टीका कुल १३ प्रदेश सभा सदस्य रहेका छन्। तीमध्ये बबिता इशर राउत उपसभामुख पदमा छन् भने पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले यसअघि नै पदबाट राजीनामा दिई अन्य दलमा आबद्ध भइसकेका छन्।































