काठमाडौं । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया आज शुक्रबारदेखि अघि बढाउने भएको छ। समितिले आज अपराह्न ४ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बैठक बोलाएको छ।
बैठकको एजेन्डामा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने र उजुरी आह्वान गर्ने विषय रहेको समितिका अधिकारीहरूले जनाएका छन्। समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बोधनारायण श्रेष्ठ रहेका छन्।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। परिषद्ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर वरियताक्रममा चौथो स्थानमा रहेका शर्मालाई सिफारिस गरेको हो।

उक्त निर्णयमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। नेपाली कांग्रेस र नेकपा एमालेले समेत सिफारिसको खुला विरोध गरेका छन्।
संवैधानिक परिषद्को निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। यद्यपि, रिट दर्ता प्रक्रिया भने अझै पूरा भएको छैन।
संवैधानिक परिषद्बाट सिफारिस भएपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। समितिले सुनुवाइ प्रक्रिया पूरा गरी अनुमोदन गरेपछि मात्र शर्माको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
सरकारका प्रवक्ताले भने शर्माको सिफारिसलाई ‘इतिहासकै राम्रो’ भनेका छन्। तर, न्यायिक वरियता मिचिएको, राजनीतिक प्रभाव परेको र पारदर्शिता नभएको भन्दै कानुनी तथा राजनीतिक वृत्तमा व्यापक आलोचना भइरहेको छ।
संसदीय सुनुवाइ समितिको आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्मासम्बन्धी औपचारिक सुनुवाइ प्रक्रिया कसरी अघि बढ्छ भन्ने निर्धारण गर्नेछ।





























प्रतिक्रिया