धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एमालेसँग सबै प्रदेशबारे थप छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।
प्रदेशस्तरीय भेलाको पहिलो दिनको कार्यक्रम सकिएलगत्तै थापाले छलफल थालेका थिए । छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहसहित कांग्रेसबाट भएका मन्त्री तथा राज्यमन्त्री, कांग्रेसका सांसद र नीति तथा योजना आयोगमा कांग्रेसबाट नियुक्त भएका उपाध्यक्ष तथा सदस्यहरू सहभागी थिए ।
प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’मा आफूविरुद्ध समानुपातिक सांसदहरूलाई कारबाही गरेर भए पनि बहुमत पुर्याउने खेल भइरहेको भन्दै सुदूरपश्चिम मुख्यमन्त्री शाहले गुनासो गरेपछि सभापति थापाले मन्त्री बन्न अपेक्षा व्यक्त गरेका सांसदहरूको माग तत्काल सम्बोधन नहुने संकेत गरेका थिए । ‘अहिले सरकारबारे निर्णय गर्ने कुरा छैन । पछि एमालेसँग सबै प्रदेशबारे थप छलफल हुन सक्छ,’ सभापति थापाले भने, ‘समग्र प्रदेशबारे छलफल भएर हुने निर्णय सबैले मान्नुपर्छ ।’
सभापति थापाले मुख्यमन्त्रीमै कायम राख्लान् कि नराख्लान् भन्ने चर्चाका बीच अधिकांश सांसदले समर्थन जनाएका छन् । त्यसपछि तत्काल कांग्रेसमा शाहको विकल्प देखिने सम्भावना टरेको छ ।
सभापति थापाले बजेटपछि नेकपासँग पनि सहकार्य गरेर सबै प्रतिपक्ष एक ठाउँमा आएर अघि बढ्न सक्नेबारे पनि बताएका थिए ।




















