नेकपा विवाद : सचिवालय बैठक बोलाउन ओलीसमक्ष शीर्ष नेताहरुको लिखित आग्रह

नेकपा विवाद : सचिवालय बैठक बोलाउन ओलीसमक्ष शीर्ष नेताहरुको लिखित आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन लिखित आग्रह गरेका छन् ।

कार्यकारी अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले आज भोलिमै बैठक बोलाउन लिखित माग गरेको उनले बताए ।

उनले भने, ‘‘सकभर भोलि नभए पर्सीसम्म बैठक बसेर गम्भिरतापूर्वक छलफल गरौ र पार्टीलाई एकतावद्ध बनाउने, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वनयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौ भनेर अनुरोध गरिएको हो ।’’ कोभिड-१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखा परेको समस्या, आर्थिक संकट लगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको श्रेष्ठले बताए ।

यस्तै स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडि बढ्न नसकेको अवस्थाको समीक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उनले बताए । कार्यकारी अध्यक्ष दाहालले पटक पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज लिखित अनुरोध गरिएको श्रेष्ठको भनाइ छ । बैठक बस्ने बारेमा भने ओलीले आज निष्कर्ष नदिएको उनले बताए ।

Skip This
Skip This
Logo