काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत सरकारको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि १८ जेठमा नयाँदिल्ली जाने भएका छन् । काठमाडौं र दिल्लीबीच तनाव बढिरहेका बेला लामिछाने दिल्ली जान लागेका हुन् ।
यद्यपि भ्रमणबारे दुवै पक्षले औपचारिक घोषणा भने गरेका छैनन् । नेपाल सरकारले पनि लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ ।
दुवैतर्फबाट उच्च सरकारी तहमा औपचारिक भ्रमण हुनुअघि लामिछानेको भारत भ्रमण हुन लागेको हो । काठमाडौं र दिल्लीस्थित स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, केन्द्रीय सडक परिवहन एवं राजमार्गमन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिस्री तथा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनलगायतसँग भेट्ने कार्यक्रम छ ।
स्रोतका अनुसार लामिछाने र मोदीबीच १९ जेठमा भेटवार्ताको प्रस्ताव गरिएको छ । यो भेटले काठमाडौंको बदलिएको राजनीतिक परिवेशमा दुवै पक्षलाई एकअर्कालाई बुझ्न र सम्बन्ध विस्तार गर्न अवसर दिने बताइएको छ। तर दिल्लीस्थित विश्लेषकहरूका अनुसार भाजपा नेतृत्व तथा भारतीय सरकार र सुरक्षा निकायका वरिष्ठ अधिकारीहरू प्रधानमन्त्री वालेन्द्र शाह र लामिछानेको कार्यशैली फरक रहेकामा जानकार रहेकाले पनि लामिछानेको भ्रमणलाई नेपालका प्रधानमन्त्रीको भ्रमणको विकल्पका रूपमा हेरिएको छैन ।
‘रास्वपा नयाँ दल भए पनि हालैको निर्वाचनमा अत्यधिक बहुमत प्राप्त गर्यो । त्यसैले पनि दिल्लीले रास्वपा नेतृत्व र सरकारसँग सम्पर्क बनाउन चाहेको हो,’ दिल्लीस्थित स्रोतले पोस्टलाई भन्यो, ‘भ्रमण नेपालको नयाँ नेतृत्वसँगै उच्चस्तरको सम्पर्क विकास गर्ने योजनाअनुसार गरिएको हो । यसलाई पछिल्लो द्विपक्षीय तनावसँग जोड्न मिल्दैन,’ स्रोतले भन्यो ।




















