रास्वपाको प्रथम महाधिवेशन : सभापतिमा लामिछाने विकल्प कोही देखिएनन्

रास्वपाको प्रथम महाधिवेशन : सभापतिमा लामिछाने विकल्प कोही देखिएनन्

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले चितवनमा आगामी ७–९ असारमा हुने पहिलो महाधिवेशनबाट सभापतिमा रवि लामिछानेलाई नै दोहोर्‍याउने तयारी भएको छ। पार्टी सभापतिमा लामिछानेको विकल्प नभएको रास्वपाका नेताहरूले सार्वजनिक रूपमा नै बताउँदै आएका छन्।

रास्वपाले पार्टी स्थापनाको चार वर्षमा पहिलो महाधिवेशन गर्न लागेको हो। आसन्न महाधिवेशनमा पार्टीको मूल नेतृत्व परिवर्तन हुने संकेत नरहेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । ‘पार्टी सभापति रवि लामिछाने हुनुहुन्छ। सरकारको नेतृत्व पार्टीका वरिष्ठ नेता र संसदीय दल नेता वालेन्द्र शाहले गरिराख्नुभएको छ । यो सन्तुलन मिलाएरै पार्टी अगाडि बढ्छ,’ उनले भने ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले ‘रास्वपाले नयाँ नेतृत्व खोजिरहेको छैन । नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन्,’ उनले भने, ‘महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारी टुंग्याउनेछ ।’

प्रधानमन्त्री वालेन्द्र शाहको पद ‘वरिष्ठ नेता’ विधानमै सम्मानार्थ व्यवस्था गर्नेबारे पनि छलफल भइरहेको छ । वरिष्ठ नेता शाहले पनि पार्टीको नेतृत्व लामिछानेले नै गर्ने निकटस्थहरूलाई बताएका छन् । एक नेताका अनुसार शाह महाधिवेशनमा जानेछन् र पार्टी नेतृत्व घोषणा कार्यक्रममा सहभागी हुनेछन् । अन्य पदाधिकारी पनि सहमतिबाट नै चयन गर्ने तयारी छ ।

हाल रास्वपाले वडा र पालिका अधिवेशन गरिरहेको छ । केन्द्रीय नेताहरू पालिका अधिवेशन गराउन सम्बन्धित क्षेत्रमा खटिएका छन् । रास्वपाले पालिका र जिल्ला अधिवेशन गर्नका लागि सबै जिल्लामा केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेको थियो । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले वडा र स्थानीय तहका अधिवेशन कार्यतालिकाअनुसार नै भइरहेको जानकारी दिए ।

केन्द्रीय निर्वाचन आयोगले प्रथम महाधिवेशनको तयारीबारे ७ जेठमा जिल्ला र प्रदेश सभापतिहरूलाई कार्यतालिका पठाएको थियो । त्यसमा १५ जेठमा जिल्ला र प्रदेशमा निर्वाचन समिति गठन गरिसक्न भनिएको छ । जिल्ला र प्रदेश समितिलाई २५ जेठसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने समय निर्धारण गरिएको छ । ३० जेठभित्र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्न भनिएको छ । यस्तै ५ असारभित्र प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको विवरण पेस गर्नुपर्नेछ।

आयोगका उपप्रमुख गुरुङका अनुसार सोमबारसम्म ६ हजार ७ सय ४३ वडामध्ये करिब २८ सय वटामा अधिवेशन भइसकेको छ । ‘पालिका अधिवेशनका लागि १६ र १७ जेठ तोकिएकामा करिब ५० पालिकामा अधिवेशन भइसकेको छ,’ उनले भने ।

महाधिवेशनमा ७७ जिल्लाबाट कम्तीमा २५ सय प्रतिनिधि सहभागी हुने अनुमान रहेको छ । विभागतर्फ अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, सल्लाह परिषद्, द्रुत उद्धार समूह (र्‍याट) बाट महाधिवेशन प्रतिनिधि चुनिन्छन् ।

Skip This
Skip This
Logo