केन्द्रबिन्दु बुलेटिन : प्रधानमन्त्रीसहित चार पूर्वप्रधानन्यायाधीशलाई अदालतमै आएर जवाफ दिन आदेश (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रधानमन्त्रीसहित चार पूर्वप्रधानन्यायाधीशलाई अदालतमै आएर जवाफ दिन आदेश (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न आदेश दिएको छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध मंगलबार कानून व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराइएका थिए भने ४ पूर्वप्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलनाको मुद्धा दर्ता गराएका थिए ।

जापान सरकारले निर्माण गरेको वीपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त वीपी राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएपछि जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले नेपालको विकास निर्माणमा जापानको सहयोग प्रशंसनिय रहेको उल्लेख गरे ।

प्रतिनिधिसभा विघटनका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बिहीबार पनि माइतीघर मण्डलामा धर्ना दिएको छ । संविधान, लोकतन्त्र, संघीयता, गणतन्त्र, समावेशीता र धर्म निरपेक्षताको रक्षाको निम्ति भन्दै दोस्रोचरणको आन्दोलनस्वरुप प्रचण्ड नेपाल समूहले बुधबारदेखि माघ २१ गतेसम्म निरन्तर धर्ना दिने कार्य तय गरेको छ । यसैबीच पार्टीका वरिष्ट नेता माधवकुमार नेपालले बुटवलमा बोल्दै केपी ओलीले कहिल्यै पनि कुनै न्यायपूर्ण आन्दोनलको अगुवाइ नगरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनका लागि गतिशील भएर लाग्न निर्देशन दिएका छन् । बैशाखमा निर्वाचन गर्ने र त्यसका लागि बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवन मरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उनको भनाइ छ । यसैबीच प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्ष ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने टिप्पणीसमेत गरेका छन् ।

वाग्मती प्रदेशलाई ९४ रनले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको आर्मीले समूह ‘बी’को विजेता वागमतीलाई सहजै पराजित गर्दै लगातार चौथो पटक फाइनल यात्रा तय गरेको हो ।

Skip This
Skip This
Logo