काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरुले संसद बैठकमा कडा प्रतिवाद गर्ने भएका छन् । यस विषयमा हिजै प्रतिपक्षी दलहरुबीच सामान्य समझदारी भएको थियो ।
हिजोको बैठकमा प्रधानमन्त्री अचानक उपस्थित भएर संसदहरुलाई प्रश्न सोध्न भनेका थिए । जवाफका क्रममा उनले ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्ति दिएपछि त्यसको व्यापक विरोध भइरहेको छ । हिजोको बैठकमा केही प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे पनि सभामुख डीपी अर्यालले कुनै सुनवाइ गरेनन् ।
सभामुख अर्यालले संसद नियमावली जबरजस्ती पारित गर्न लागेपछि हिजो दिनभरको बैठक तनावपूर्ण भएको थियो । आज भने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रतिपक्षी दलहरु केन्द्रित हुने भएका छन् ।
आजको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकअघि प्रतिपक्षी दलका प्रमुख नेताहरुबीच अनौपचारिक छलफल हुने एमालेका प्रमुख सचेतक ऐन महरले बताए ।उनले भने, ‘आज संसद बैठकको सुरुवातबाटै बेल घेराउ हुन्छ । प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाएर संसदसँग माफी नमागेसम्म हामी संसद चल्न दिँदैनौं ।’
त्यस्तै प्रधानन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर नेकपा एमालेको संसदीय दलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ ।संसदीय दलका नेता रामबहादुर थापा बादलसहितका सांसदहरु ओली निवास गुण्डु पुगेका छन् । संसदीय दलका प्रमुख सचेतक ऐन महरका अनुसार ओलीले उनीहरुलाई छलफलका लागि बोलाएका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिबारे अध्यक्षसँग छलफल हुने उनले जानकारी दिए ।































प्रतिक्रिया