‘प्रचण्ड–माधव पक्ष ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्छन्’ : प्रधानमन्त्री ओली

‘प्रचण्ड–माधव पक्ष ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्छन्’ : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखको निर्वाचनको निम्ति सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार आफू निकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले बैशाखमा चुनाव हुने भएकोले कार्यकर्ताहरुलाई अत्यन्त सजग र गतिशील भएर लाग्न निर्देशन दिएका हुन् । बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लैजाने भन्ने जीवन मरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको पनि बताए।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गरे। पार्टीमा शुद्धिकरण अभियान चलेको बताउँदै उनले पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृति किनारा लागेको बताए। पार्टी एक विचार र एक धारणासाथ एकताबद्ध भएर अघि बढेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिई एकताबद्ध मजदूर आन्दोलन निर्माण गर्नुपर्ने बताए । अल्मल्लिएकाहरुलाई आफूहरुको बाटोमा समाहित गराउनु पर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्ष ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने पनि बताए । प्रचण्ड–माधवले पार्टी चलाउने कुरा नभएको भन्दै नागरिक समाजको सम्मानित व्यक्तित्व बनाएर राख्ने टिप्पणी गरे ।

Logo