काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय नेतृत्व चयन प्रक्रिया लम्बिँदै जाँदा पदाधिकारीहरू सर्वसम्मत चुनिएलान् कि निर्वाचन होला भन्ने अन्योल बढेको छ।
कार्यतालिका परिमार्जन भई मतदान प्रक्रियामा ढिलाइ भएपछि अधिकांश प्रतिनिधिहरू असन्तुष्ट बन्दै घर फर्किएका छन्, जसका कारण नेतृत्व चयन प्रक्रिया थप प्रभावित हुने सङ्केत देखिएको हाे ।
यसअघि मंगलबारका लागि तय गरिएको केन्द्रीय सदस्यको निर्वाचन विभिन्न प्राविधिक कारण देखाउँदै बुधबारका लागि सारिएको थियो। तर, बुधबार दिनभर पनि मतदान सुरु हुन नसकेपछि प्रतिनिधिहरू आक्रोशित हुँदै बाहिरिन थालेका थिए। परिस्थिति बिग्रेपछि तोकिएकै कार्यतालिका जोगाउन गए राति १२ बजेदेखि मात्रै मतदान सुरु गरिएको थियो, जुन आज बिहीबार मध्याह्न साढे १२ बजेसम्म जारी रह्यो।
पहिलो चरण अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको उक्त चुनावमा कुल ४ हजार ३ सय ११ प्रतिनिधिमध्ये केवल २ हजार ९ सय ५९ मत मात्र खसेको छ। मतदान प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै १ हजार ३ सय ५२ जना प्रतिनिधि मतदानमै सहभागी नभई घर फर्किसकेका छन्।
यद्यपि, रास्वपा प्रवक्ता मनीष झाले भने निर्धारित प्रक्रिया अनुसार नै दोस्रो चरणको मतदान हुने जानकारी दिएका छन्। आजै दिउँसो ४ बजेदेखि पदाधिकारी चयनका लागि मतदान गर्ने तयारी भइरहेको उनको भनाइ छ। प्रवक्ता झाले दाबी गरे बमोजिम दोस्रो चरणको मतदान प्रक्रिया अघि बढेमा परिणाम आउन आज रातभर लाग्ने अनुमान गरिएको छ।
रास्वपाको विधान अनुसार १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। हाल दलको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह सर्वसम्मत चयन भइसकेका छन्।
बाँकी पदहरूमध्ये दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी कुल ६ पदका लागि निर्वाचन गर्नुपर्ने अवस्था छ, जसमा ५० जनाभन्दा बढी आकांक्षी देखिएका छन्। रास्वपाको विधान अनुसार ३ उपसभापतिमध्ये १ जना, २ महामन्त्रीमध्ये १ जना र ५ सहमहामन्त्रीमध्ये २ जनालाई पछि मनोनीत गर्ने व्यवस्था छ।





























प्रतिक्रिया