काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागुऔषधलाई सामाजिक चुनौतीका पमा लिँदै सरकारले ‘लागुऔषधको अन्त्यको सुरुआत गर्ने अभियान’ सञ्चालन गर्ने नीति लिएको बताएका छन् ।
अन्तरराष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उनले लागुऔषधको ओसारपसार र दुरुपयोगसम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताए । “अन्तर-निकाय समन्वय बढाइनेछ र कानुनी सुधारका काम निरन्तर हुनेछन्”, उनले भने ।
लागुऔषधको ओसारपसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने सङ्गठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरुले बताए ।
लागुऔषध दुर्व्यसनीमुक्त समाज बनाउन मन्त्रालयले यसको रोकथाम, नियन्त्रण र दुर्व्यसनीमा फसेकालाई उपचार गरी समाजमा पुनःस्थापना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको गृहमन्त्रीले बताए । “यो सामाजिक चुनौतीको समाधान सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन । तसर्थ, स्थानीय समुदायले अगुवाइ गर्न र युवापुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउन नागरिक समाज र सञ्चारमाध्यमलाई सामाजिक साझेदारीका लागि समेत पुनः आह्वान गर्दछु”, उनले भनेका छन् ।
लागुपदार्थ प्रयोगकर्ता सर्वेक्षणअनुसार सन् २००६ मा नेपालमा प्रयोगकर्ता ४६ हजार ३०९ रहेकामा सन् २०२४ सम्म आइपुग्दा यो सङ्ख्या करिब एक लाख ५६ हजार पुगको अनुमान गरिएको छ । कार्यक्रममा लागुऔषध दुर्व्यसनीलाई समाजमा पुनःस्थापना गराउन भूमिका निर्वाह गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । सोअवसरमा गृह मन्त्रालयले प्रकाशन गरेको ‘सुरक्षित जीवन’ जर्नल विमोचन गरिएको थियो ।





























प्रतिक्रिया