सुरु भयो मतदाता परिचयपत्र वितरण

सुरु भयो मतदाता परिचयपत्र वितरण

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ मंसिर ।

प्रदेश र प्रतिनिधिसभा दोस्रो चरणको निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण आजबाट सुरु भएको छ ।

पर्सी बिहीबार मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मंगलबार र बुधबार मतदाता परिचय पत्र वितरणको कार्यक्रम छ ।

आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । आयोगका कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिनेछन् । परिचयपत्र लिन जाँदा आफ्नो परिचय खुल्ने कुनै सरकारी कागजात वा स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र देखाउनुपर्ने छ ।

आयोगका अनुसार, एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने छ ।

यसैगरी राससले पोखराबाट प्राप्त गरेको समाचारअनुसार, निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण शुरु गरेका छन् ।

कास्की जिल्लाका ३१७ वटै मतदान केन्द्रमा सोमबार नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार मतदाता शिक्षा स्वयंसेवकले मत बदर नहोस् भनेर मतदाता शिक्षाबारेमा पनि मतदातालाई जानकारी गराएका छन् । कर्मचारीले बिहीबार हुने मतदानस्थलमा पुरुष तथा महिला मतदाताको छुट्टाछुट्टै लाम तथा अपाङ्गतायुक्त, अशक्त र ज्येष्ठ मतदातालाई सहज तरिकाले मतदान गर्ने व्यवस्थासमेत गर्नेछन् ।

महिला कर्मचारी
बिहीबार हुने निर्वाचनका लागि चार मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ । क्षेत्र नं १ को अमरसिंह नमूना मावि रामघाट, क्षेत्र नं २ को पार्दी मावि पार्दी र नवीन मावि गौरापाटन र क्षेत्र नं ३ को बाराही मावि मालेपाटन मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ । एक सय ५० मतदानस्थल रहेको कास्कीको निर्वाचनमा सुरक्षाकर्मीबाहेक तीन हजार ८३२ कर्मचारी छन् ।

यस पटक मतदान अधिकृत र सहायक मतदान अधिकृतको मतदान केन्द्र छनोट गोला प्रथाबाट गरिएको थियो । जिल्लाका एक महानगरपालिका र चार गाउँपालिकामा दुई लाख ५५ हजार ४५२ मतदाता छन् । जिल्लामा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र छन् ।

कर्मचारी मतदान केन्द्रमा
यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारी कास्कीका सबै मतदान केन्द्रमा पुगेका छन् । जिल्लामा कुल ३१७ मतदान केन्द्रका लागि सम्बन्धित मतदान अधिकृत निर्वाचनका सामग्री लिएर पुगिसकेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

“मतदान अधिकृतहरूले सर्वदलीय बैठक राखेर नयाँ मतदाता परिचयपत्र वितरण पनि शुरु गरिसक्नुभएको छ,” उहाँले भन्नुभयो, “मौन अवधि पनि शुरु भैसकेका कारण यस समयमा प्रत्येक मतदाताले राम्रोसँग मनन गरी आफ्नो प्रतिनिधि कसलाई छनोट गर्ने भन्ने धारणा तयार गर्दछन् ।”

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था भैसकेको बताउँदै उहाँले ढुक्कसँग मतदान गर्न आग्रह गर्नुभयो । मतदाता परिचयपत्र वितरण शुरु भएसँगै मतदान केन्द्रमा परिचयपत्रका लागि सर्वसाधारण लामबद्ध भएका छन् ।

परिचयपत्र वितरणका साथै मतदान व्यवस्थित बनाउन आज बिहानै सर्वदलीय बैठक बसेको जनप्रिय मावि केन्द्रका मतदान अधिकृत महेन्द्रराज कौडालले बताउनुभयो । सर्वदलीय बैठकपछि मतदाता परिचयपत्र वितरण शुरु गरिएको बताउँदै उहाँले आजै अपराह्नदेखि बुथ निर्माण गरिने जानकारी दिनुभयो । परिचयपत्र लिनका लागि मतदाताहरू उत्साहका साथ सहभागी भैरहेको रत्नचोक वडा कार्यालय केन्द्र(क)का मतदान अधिकृत सूर्यकुमार श्रेष्ठले बताए ।

Logo