कर्णालीमा मन्त्री आकाशमा सयर गर्दैछन्, नागरिक डुब्दै गर्दा गोताखोर पुग्न सकेनन्: ज्ञानेन्द्र शाही

कर्णालीमा मन्त्री आकाशमा सयर गर्दैछन्, नागरिक डुब्दै गर्दा गोताखोर पुग्न सकेनन्: ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा डुबेका नागरिकहरूको उद्धारमा सरकारले चरम लापरबाही गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको यात्रुवाहक गाडी आज कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटनामा परेको थियाे ।

सांसद शाहीले उता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हेलिकोप्टरबाट कर्णालीको आकाशमा निरीक्षण भ्रमण गरिरहँदा, यता नदीमा डुबेका नागरिकहरूको खोजीका लागि आवश्यक गोताखोर समेत समयमै पुग्न नसकेको भन्दै तीखो आलोचना गरेका हुन् । संकटका बेला औपचारिकता र अन्य कार्यक्रमभन्दा नागरिकको ज्यान बचाउनु राज्यको पहिलो दायित्व हुनुपर्ने उनको तर्क छ।

“उता ऊर्जा मन्त्री हेलिकोप्टरबाट कर्णालीको आकाशमा निरीक्षण भ्रमण गर्दै हुनुहुन्छ, यता कर्णाली नदीमा डुबेका नागरिकहरूको खोजीका लागि गोताखोरसमेत समयमै पुग्न सकेका छैनन्,” सांसद शाहीले भनेका छन्, “संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो कुनै कार्यक्रम वा औपचारिकता हुँदैन।”

उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै कर्णाली नदीमा बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तत्काल थप प्रभावकारी, तीव्र र आवश्यक अत्याधुनिक स्रोत-साधनसहित अघि बढाउन हार्दिक अपिल गरेका छन् ।

गाडीमा १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनास्थलमा एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको छ, तर बाँकी भेटिएका छैनन् ।

Logo