काठमाडौँ । नेपाली कांग्रेसले १५औं महाधिवेशलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको हो ।
आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न १५औँ महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको हो ।
निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन इभिएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
त्यस्तै, निर्वाचन प्रक्रिया शुरु भइसकेपछि निर्वाचन सम्बन्धी आचारसंहिता लागू हुने भएकोले निर्वाचन अवधीमा विधानमा अन्यथा उल्लेख भएकोमा वाहेक निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
बैठकको निर्णयहरु-
१. नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ । साथै, निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन अर्थात पेपरलेस प्रविधि वा इ.भि.एम. प्रविधिलाई प्राथमिकताका साथ अगाडी वढाउने निर्णय गर्दछ ।
२. निर्वाचन प्रक्रिया शुरु भइसकेपछि निर्वाचन सम्बन्धी आचारसंहिता लागू हुने भएकोले निर्वाचन अवधीमा विधानमा अन्यथा उल्लेख भएकोमा वाहेक निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायहरुलाई आग्रह गर्ने निर्णय गर्दछ ।
३. निर्वाचन कार्यमा काठमाण्डौ उपत्यकाभित्र रहेका काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत, त्यसैगरी उक्त जिल्लाहरु अन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका एवं नगरपालिकाहरुमा महिला कानुन व्यवसायीहरुलाई निर्वाचन अधिकृतको रुपमा प्राथमिकताका साथ खटाइने निर्णय गर्दछ ।
४. निर्वाचन कार्यमा स्वयंसेवकको रुपमा सहयोग गर्न कानुन व्यवसायी तथा अन्य पेशागत समुहलाई आह्वान गरी रोष्टर तयार गर्ने र रोस्टरमा रहेका व्यक्तिहरुलाई अभिमुखीकरण कार्यक्रममा संलग्न गराई निर्वाचन अधिकृतको रुपमा खटाउने निर्णय गर्दछ ।






























