बेरुजु घटाउने चुनौती ठूलो छ, लेखा समितिले अब गति लिन्छ -सभापति खड्का

बेरुजु घटाउने चुनौती ठूलो छ, लेखा समितिले अब गति लिन्छ -सभापति खड्का

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले मुलुकमा रहेको ठूलो बेरुजु रकम घटाउनु समितिको प्रमुख चुनौती भएको बताएका छन् ।

शुक्रबार लेखा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खड्काले समितिले बेरुजु फस्र्योटका लागि पाँच वटा उपसमिति गठन गरेको जानकारी दिए ।

उनले उपसमितिका संयोजकसहित सबै सदस्यहरूको व्यवस्थापन गरिएको र अब समितिले प्रभावकारी रूपमा काम अघि बढाउने बताए । ‘आज लेखा समितिको बैठकले पाँचवटा उपसमितिहरू गठन गरेको छ । संयोजकसहित सम्पूर्ण सदस्यहरूको व्यवस्थापन गरिएको छ । यसलाई मैले महत्वपूर्ण कार्यको रूपमा लिएको छु,’ उनले भने ।

सभापति खड्काले हाल करिब ७५५ अर्ब रुपैयाँ बेरुजु रहेको उल्लेख गर्दै त्यसलाई नियमसंगत र प्रक्रियागत रूपमा न्यूनीकरण गर्नु ठूलो चुनौती भएको बताए । ‘सबैभन्दा ठूलो कुरा बेरुजु फस्र्योटको समस्या छ । करिब करिब सात सय ५५ अर्ब बेरुजु छ । अब यो बेरुजुलाई कसरी न्यूनीकरण गर्ने भन्ने ठूलो चुनौती छ,’ उनले भने ।

उनले कतिपय बेरुजु दीर्घकालीन (क्रोनिक) प्रकृतिका रहेको भन्दै त्यस्ता बेरुजु व्यवस्थापनका लागि सम्बन्धित पक्षसँग छलफल भइरहेको जानकारी दिए ।

सभापति खड्काले अब केही दिनभित्र उपसमितिहरूको कार्यक्षेत्र (टीओआर) तयार गरी काम अघि बढाइने बताए । उनले आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु अहिले राष्ट्रको प्रमुख चुनौती रहेको उल्लेख गरे । ‘राष्ट्रको चुनौती भनेको आर्थिक अनुशासन र वित्तीय सुशासन नै हो । जबसम्म हामीले आर्थिक अनुशासन कायम गर्न सक्दैनौँ, वित्तीय सुशासन कायम हुन सक्दैन,’ उनले भने ।

उनले लेखा समितिको काम पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमाध्यमबाट खबरदारी र सहयोग आवश्यक रहेको बताए ।

Logo