काठमाडौं । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था दुई ढुङ्गाबीचको तरुलबाट तीन ढुङ्गाबीचको तरुलमा परिणत भएको बताएका छन् ।
शनिबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘नेपालको भूराजनीतिमा छिमेकी सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि र नेपाली सेनाले एसपिपीकोलागि सम्झौता अगाडि बढाएपछि नेपालको भूराजनीतिक अवस्था थप संवेदनशील बनेको बताए ।
उनले भने, ‘साथिहरु पृथ्वीनारायण शाहलाई कोट गरेर नेपाल दुई ढुङ्गाबीचको तरुल भन्नुहुन्छ । म चाहिँ एमसिसी पास गरेपछि र आर्मीले एसपिपी ल्याउने भनेपछि नेपाल ढुङ्गाबीचको तरुल हैन, तीन ढुङ्गाबीचको तरुल भयो । दुईवटा ल्यान लेभर र एउटा स्काई लेभर ।’
श्रेष्ठले नेपाल कमजोर देखिए पनि यसको आफ्नै अस्तित्व रहेको उल्लेख गर्दै त्यो अस्तित्वमाथि चुनौती आए छिमेकी मुलुकहरू पनि प्रभावित हुने बताए । ‘तरुल सफ्ट छ, डेलिकेट छ, तर तरुलको अस्तित्व मेट्न खोजे भने वरिपरीका ढुङ्गा पनि आएर तिमीहरूलाई टुक्रा–टुक्रा गर्न सक्छन्,’ उनले भने ।
उनले नेपालको भूराजनीतिमा सन्तुलित र शान्तिपूर्ण कूटनीति आवश्यक रहेको बताए । नेपाललाई कुनै पनि शक्ति राष्ट्रबीचको द्वन्द्वको केन्द्र बनाउन नहुने उनको भनाइ थियो ।
‘नेपाललाई वारको सेन्टर बनाउनु हुँदैन । नेपाललाई चीन विखण्डन गर्नेहरूको अखडा बनाउन हुँदैन । नेपालको भूमिलाई द्वन्द्वको भूमि बनाउन हुँदैन,’ श्रेष्ठले भने ।
उनले नेपाललाई शान्तिको क्षेत्रका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै अमेरिका र चीन दुवैले शान्ति क्षेत्रको अवधारणालाई समर्थन गर्ने बताए । भारतले पनि आफ्नो प्रभाव क्षेत्रको दृष्टिकोणभन्दा माथि उठेर नेपाललाई शान्ति क्षेत्रका रूपमा समर्थन गर्ने समय आएको उनको भनाइ थियो ।
‘नेपाललाई शान्तीको क्षेत्र बनाउनु पर्छ, अमेरिकाले पनि शान्तीको क्षेत्रलाई समर्थन गर्छ । चीनले पनि शान्तीको क्षेत्रलाई समर्थन गर्छ । भारतभन्दा चीन शक्तिशाली भएकोले चीन नेपालतर्फ नफर्कियोस् भन्नका लागि भारतले पनि नेपाललाई शान्ति क्षेत्रको रूपमा समर्थन गर्ने बेला आएको छ,’ उनले भने ।






























