काठमाडौँ । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूमाथि लागेका आरोप र आलोचना गर्नेहरूलाई निसाना बनाउँदै “नखाएको रक्सी लागेको” टिप्पणी गरेका छन्।
शाहीले शनिबार राति फेसबुक लाइभमार्फत रास्वपा र उसका समर्थकलाई लक्षित गर्दै ‘टीओबी ग्याङ’, ‘सहकारी ठगहरूको समूह’, ‘गजेडीहरूको ग्याङ’ लगायत अपमानजनक टिप्पणी गरेका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा आज लेखेका छन्, “जापानको रक्सी पनि कडा रहेछ! वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ। सहकारी ठगलाई ठग नै भनिएछ। गाँजडीको ग्याङलाई गाँजडी ग्याङ नै भनिएछ। खराने ग्याङलाई खराने ग्याङ नै भनिएछ। टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिएछ।”
आफ्ना विरोधी र सामाजिक सञ्जालमा भिडियो बनाएर कमाउनेहरूलाई लक्षित गर्दै शाहीले आफूलाई ‘रोस्ट’ गरेर पैसा कमाउन चुनौती दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, “ल, विश्वभरिका बेरोजगार केटाहरू हो! आज तिमीहरूको डलर टन्नै झर्छ। जति रोस्ट गर्न मन छ, गर। जति स्टाटस लेख्न मन छ, लेख। आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है, केटा हो!”































