काठमाडौं । उपचारका क्रममा हाल हङकङमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही महिनाभित्र नेपाल फर्किने भएका छन्।
उनका स्वकीय सचिव भानु देउवाका अनुसार उनी साउन महिनाभित्रै नेपाल फर्कने तयारीमा छन्। यद्यपि स्वदेश आगमनको निश्चित मिति भने अझै तय भइसकेको छैन।
उपचारका लागि विदेशमा रहेका देउवाले मंगलबार बीपी कोइरालाको स्मृति दिवसको अवसरमा एक विज्ञप्ति सार्वजनिक गरेका छन्। स्वकीय सचिव भानु देउवाका अनुसार उक्त विज्ञप्तिमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
विज्ञप्तिमा देउवाले केही महिनादेखि स्वास्थ्य उपचारका कारण देशबाहिर रहँदा पनि आफ्नो ध्यान र चासो सधैं नेपाल, नेपाली जनता, लोकतान्त्रिक व्यवस्था तथा राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गरेका छन्।
उनले पछिल्ला राजनीतिक गतिविधिलाई आफूले निरन्तर नियालिरहेको जनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताविपरीत प्रतिपक्षलाई दबाबमा पार्ने वा भयको वातावरण सिर्जना गर्ने कुनै पनि प्रयास स्वीकार्य हुन नसक्ने धारणा व्यक्त गरेका छन्।
देउवाले अब छिट्टै नेपाली भूमिमा फर्किन लागेको जानकारी दिँदै सरकारले प्रतिशोधपूर्ण वा अलोकतान्त्रिक व्यवहार देखाए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासप्रति आफ्नो पूर्ण आस्था कायम रहेको बताएका छन्।
‘म नेपाली भूमिमा पुनस् पाइला टेक्दैछु, सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,’ देउवाले भनेका छन्।































