केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ कात्तिक ।
मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) को चुनावी मोर्चा (देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल– राजमो) ले बुधबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा सो पार्टीका नेता तथा मोर्चाका अध्यक्ष सीपी गजुरेलले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको घोषणापत्र २८ बुँदा र १४ पेजमा समेटिएको छ । जसमा संसदवादी दलहरुलाई यथास्थितिवादी भनिएको छ ।
रु १० मूल्य नै तोकेर सार्वजनिक गरिएको घोषणापत्रमा अहिलेका प्रमुख भनिएका राजनीतिक दल र सरकारको राजनीतिक भण्डाफोर गर्ने तथा उनीहरु चुनावपछि पनि नसच्चिने भएकाले मुलुकको बैकल्पिक शक्ति माओवादी क्रान्तिकारी भएको दावी गरिएको छ ।
घोषणापत्रमा अहिलेको संघीय संरचना गलत रहेको उल्लेख छ । त्यस्तै उत्कृष्ट भनिएको संविधान अपुरो रहेको तथा परराष्ट्र नीति पञ्चशीलको आधारमा हुनुपर्ने सर्वमान्य मान्यता कुल्चँदै त्यसविपरीत संविधान मौन रहेको उल्लेख गरिएको छ ।
त्यस्तै मुलकलाई स्वतन्त्र र सम्बृद्ध बनाउन सन् १९५० को असमान सन्धी खारेज, विप्पा खोरज, भ्रष्टचारीलाई कारबाही गर्न सशक्त काननु बनाउने, १२ कक्षासम्म निःशुल्क गर्ने, हरेक प्रदेशमा ‘रिफरल’ अस्पताल बनाउने र वैज्ञानिक भुूसुधार लागू गर्ने प्रतिबद्धता घोषणापत्रमा छ ।
घोषणापत्र सार्वजनिक गर्दै मोर्चाका अध्यक्ष गजुरेलले संविधान नै गलत प्रकृयाबाट जारी गरिएको टिप्पणी गरे । उनले हालको संविधानले जनयुद्ध र जनआन्दोलनलाई सम्बोधन नगरेको भन्दै यसले जनताका इच्छा र आकांक्षा पुरा गर्न नसक्ने भएकाले अझै क्रान्तिको आवाश्यक्ता रहेको जनताले महसुस गरिरहेको दावी पनि गरे ।
गजुरेलले निर्वाचनमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्था राखेर केही टाउकेले मात्र मुलुकमा राजनीति गर्न खोजेको आरोप लगाए । ‘यस्तो प्रतिकृयाबादी सत्ता ढाल्नुपर्छ, संविधान खारेज हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यही मान्यताका कारण अरु दलभन्दा हामी यसैमा फरक छौ ’ गजुरेलको भनाइ थियो । एमाले र माओवादी अव कम्युनिष्ट नै नरहेको उनको आरोप थियो ।





























प्रतिक्रिया