निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १४ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।

नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाएका हुन् ।

आयोग गत साउन ५ गते गठन भएको थियो । आयोगका सदस्यहरुमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की र सदस्य सचिवमा वेगेन्द्रराज शर्मा छन् ।

एक नम्बर प्रदेशमा २८, २ नम्बर प्रदेशमा ३२, ३ नम्बर प्रदेशमा ३३, ४ नम्बर प्रदेशमा २८, ५ नम्बर प्रदेशमा २६, ६ नम्बर प्रदेशमा १२ र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

समग्रमा दुईवटा निर्वाचन क्षेत्र हुने जिल्ला २१, तीनवटा निर्वाचन क्षेत्र हुने जिल्ला ७, चारवटा निर्वाचन क्षेत्र हुने जिल्ला ९, पाँच निर्वाचन क्षेत्र हुने जिल्ला तीन र ६ निर्वाचन क्षेत्र हुने जिल्ला एउटा छ ।

देशका ३५ जिल्लामा एउटा–एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र काठमाडौंमा छन् । (राससको सहयोगमा)

Logo