कथा इन्काउन्टरको

कथा इन्काउन्टरको

केन्द्रबिन्दु
0
Shares

विदुर खतिवडा । काठमाडौं, २५ साउन ।

यसै साता (गत सोमबार) ललितपुर कुसुन्तीका एकजना युवक प्रवीण खत्री प्रहरीको गोलीले मारिए । उनलाई एसएसपी दिनेश अमात्य नेतृत्वको प्रहरी महाशाखाले ‘मुठभेड’ मा मारेको थियो । परिवारले चरणबद्ध पुन:स्थापना केन्द्रमा राखेको खत्रीमाथि प्रहरीले लागुऔषध कारोबारी भएको आरोप लगाएको छ । दुईवटा हतियार बोकेर खत्रीले फायर गर्न खोजेपछि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ ।

‘मुठभेड’ मा यसरी प्रवीण मारिएको घटना प्रहरीले गरेको पछिल्लो इन्काउन्टरका रूपमा चर्चामा छ । यो घटनालाई केही महिना पहिले भएको दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’को इन्काउन्टरकै पृष्ठभूमि र शृंखलाका रूपमा अन्जाम दिइएको भन्न सकिन्छ ।

त्यसो त नेपालमा इन्काउन्टर नै भनेर कुनै खास शब्दावली अथवा सुरक्षा निकायको विशेषज्ञयुक्त बेग्लै युनिट अस्तित्वमा छैन । यो बाहेक नेपालमा मृत्युदण्डको सजाय संविधानत: नै छैन ।

यो पनि पढ्नुहोस: इन्काउन्टरको गलत अभ्यास

तापनि ‘इन्काउन्टर’ चर्चित छ । इन्काउन्टर गर्ने र इन्काउन्टर हुने दुवैको चर्चा चल्ने गर्छ । यसै सन्दर्भमा विश्वव्यापी रूपमा इन्काउन्टरको उत्पत्ति र विकास कस्तो छ, केही चर्चा गरौं ।

इन्काउन्टरका निम्ती छिमेकी मुलुक भारत विश्वमै अग्रपंक्तिमा छ । नेपालको अर्को छिमेकी मुलुक चीनमा कडा कम्युनिस्ट शासन भएकाले तुलनात्मक रुपमा इन्काउन्टर कम हुन्छ । विकसित मुलुकहरुमा पनि इन्काउन्टरट्रेन्ड उत्तिकै छ ।

भारतमा सन् १९८२ जनवरी ११ मा मारिएका मुम्बईका चर्चित गुण्डा नाइके मान्या (मनोहर) सुर्बेमाथि पहिलो प्रहरी इन्काउन्टर भएको मानिन्छ । तर केही समयपहिले प्रकाशित एक प्रतिवेदनले सन् १९८० अक्टोबर १४ मा नै लुइस जोसेफ डिसुजालाई इन्काउन्टर गरिएको देखाएको छ ।

इन्काउन्टरमा आधारित बलिउड
भारतमा इन्काउन्टर प्रभाव कतिसम्म छ भने ८० को उत्तरार्ध र ९० को दशकमा बनेका अनेक हिन्दी चलचित्रमा इन्काउन्टरका दृश्य देख्न सकिन्थ्यो । पछि आएर इन्काउन्टरमा मारिएका डनहरूको विषयमा नै चलचित्र बने । ‘शुटआउट एट बाडाला’ मुम्बई डन मान्या सुर्बेमा आधारित चलचित्र थियो जसमा मान्याको भूमिका अभिनेता जोन अब्राहमले गरेका थिए ।

हप्ता असुली र ग्यांगस्टरमा चर्चा कमाएका मान्याले २२ जनाको बलात्कार गरेको आरोप थियो । तर हरेक बलात्कारको केसमा उनी सहजै तारेखमा छुट्ने गर्थे, दबाबका कारण गुन्डालाई लामो समय जेलमा राख्न नसक्ने भएपछि मान्यालाई इन्काउन्टर गर्ने निष्कर्षमा पुलिस पुगेको थियो ।

इन्काउन्टर गर्ने पुलिस अफिसरको चर्चा पनि उत्तिकै छ । मुम्बई पुलिसका सब इन्सपेक्टर दया नायकको चरित्रमा आधारित ‘अब तक छप्पन’ चलचित्र बनेको थियो । दुई सिक्वेलमा बनेको अब तक छप्पनको पहिलो संस्करण ब्लकबस्टर हिट बन्यो । साधु आगासे बनेका नाना पाटेकरको जबर्जस्त अभिनयले पनि यसलाई सफल तुल्याएको थियो ।

त्यसो त दयानायकको चरित्रमा अन्य चलचित्र पनि बनेका छन् । इन्काउन्टर द किलिङ, खाकी, शुटआउट एट लोखन्डवाला, डिपार्टमेन्ट, शागिर्द, रेज, रिक्स, म्याक्सिमम, तमिल चलचित्र काखा काखा लगायत इन्काउन्टरकै बेसमा बनेका सफल चलचित्र हुन् ।

मान्या सुर्बेको इन्काउन्टरपछि मुम्बई पुलिसले संदिग्ध अपराधी मार्ने समूह डिटेक्सन युनिट नै खडा गर्‍यो । मानवअधिकार उल्लंघन, निर्दोषको हत्या र आपराधिक ग्याङसँगै पैसा लिएर प्रतिस्पर्धी ग्याङका सदस्य मारेको भनेर बदनाम भएपछि सन् २००६ मा यसको विघटन भयो । त्यसबेला सम्म डिटेक्सन युनिटले १ हजार २ सय भन्दा बढी इन्काउन्टर गरिसकेको थियो ।

केही चर्चित इन्काउन्टर स्पेसलिस्ट

भारतका केही चर्चित इन्काउन्टर स्पेसलिस्टको इन्काउन्टर लिस्ट विकिपिडियामा उपलब्ध छ जसअनुसार इन्सपेक्टर प्रदिप शर्माको नाममा १ सय ४, सब–इन्सपेक्टर दया नायकको नाममा ८३, इन्सपेक्टर प्रफुल भोसले ७७, इन्सपेक्टर रवीन्द्रनाथ आङ्ग्रे ५४, एसिस्टेन्ट इन्सपेक्टर सचिन वेज ६३, इन्सपेक्टर विजय सालस्करले ६१ जनालाई इन्काउन्टरमा सिध्याएका थिए ।

प्रहरी र अपराधीबीचको दोहोरो मुठभेड इन्काउन्टर भए पनि प्रहरीले अपराधी पक्रिएर इन्काउन्टरका नाममा सिध्याउने खेल बढेपछि भारतमा यसको विरोध भयो । महाराष्ट्रका अतिरिक्त गुजरात, पन्जाबमा पनि इन्काउन्टर केस बढे । इन्काउन्टरका नाममा गैरन्यायिक हत्या बढेको भनेर हाल यसको स्वरूपमा केही परिवर्तन गरिएको छ तर भारतमा इन्काउन्टरका घटना चलिरहेकै छन् ।

गैरन्यायिक हत्या गरेर बदनाम हुनुपर्नेमा भारतमा इन्काउन्टर स्पेसलिस्टहरूका क्रियाकलापमा आधारित रहेर चलचित्र बने । चलचित्रमा इन्काउन्टर स्पेसलिस्ट हिरो भए । उनीहरूलाई मिडियामा पनि हिरो बनाइयो । इन्काउन्टर विषयमा आधारित ‘गर्व, द प्राइड’ नामक सलमान खान–अरबाज खान अभिनित बलिउड फिल्म अत्यन्तै चर्चित थियो ।

मुम्बईको डिटेक्सन युनिटले सुरुमा इमान्दारीपूर्वक काम गरे पनि १९९३ को बम विस्फो पछि दाउद इब्राहिमको समूहबाट छोटा राजन ग्याङ अलग्गियो । हिन्दु–मुस्लिम ग्याङका रूपमा यिनीहरू छुट्टिए । यसपछि युनिटका सदस्यहरु प्रतिस्पर्धी ग्याङको पैसा खाएर धमाधम इन्काउन्टरमा अग्रसर भएका थिए ।

 

इटालीको माफिया झन् खतरनाक
कानुनी रूपमा हेर्दा भारत र बंगलादेशमा कारवाहीका क्रममा प्रहरीलाई गोली हान्न सकिने प्रावधान राखेर इन्काउन्टर अभियान सुरु गरिएका थिए ।

अमेरिकामा इन्काउन्टरका केही सफल केसहरू छन् तर जापान र इटालीमा फैलिएको माफियागिरी इन्काउन्टरमार्फत नियन्त्रण गर्न खोज्दा त्यहाँको प्रहरी प्रशासन असफल भएको थियो । याकुजाको अपराध कर्म इन्काउन्टरपछि पनि नियन्त्रण हुन नसकेको उदाहरण हो । एक विज्ञका अनुसार सरकार कडा रूपमा पेस भएपछि उनीहरू पनि अत्यन्तै गोप्य तरिकाले आफ्नो संजाललाई सन्चालन गर्छन्, जुन बढी खर्चिलो हुन्छ र त्यो खर्च उठाउन उनीहरूले अपराधकर्मको शुल्क थप बढाउँछन् ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहमाथि पनि दुईवटा गैरन्यायिक हत्याका आरोप छन् । गुजरातको गृहमन्त्री रहँदा उनले दिएको आदेशका कारण भएको इन्काउन्टरको आरोप उनीमाथि छ । इन्काउन्टर गर्ने प्रहरी पनि भारतीय कानुनको सिकार भए । इन्सपेक्टर प्रदीप शर्मा, प्रफुल भोसले, सचिन वेज अभियुक्त बन्न पुगे । यस्तै विजय सालस्करको सन् २००८ ताज होटलमा आतंककारीको आक्रमणमा मृत्यु भयो । इन्काउन्टरमा रहने प्रहरी अधिकारीले यसबारेमा सचेत रहनुपर्ने जानकारहरू बताउँछन् ।

वीरप्पनको प्रसंग
भारतका कुख्यात डाँका/चन्दन तस्कर वीरप्पनको इन्काउन्टर पनि उत्तिकै विवादास्पद रहयो । भनिन्छ, वीरप्पनले २ हजार हात्ती मारेका थिए । ७० वटा आपराधिक क्रियाकलाप, ४० व्यक्तिको हत्या, अन्यको अपहरण लगायतका थुप्रै विषयका निम्ती उनी अपराधी ठानिएका थिए । प्राय: वन अधिकारी र प्रहरीलाई वीरप्पनले मारेका थिए । उनको बहिनी मारी र भाइ अर्जुननको हत्याका लागि प्रहरी प्रशासन जिम्मेवार भएको ठानेर उनले धेरैको हत्या गरेका थिए ।

सन् २००४ इन्काउन्टरमा मारिएपछि वीरप्पनका केही गोप्य कुरा खुलासा भएका थिए । उनले प्रशिक्षित गरेका कुकुर र बाँदरले वीरप्पन हत्याका विषयमा साक्षीका रूपमा बयान दिएका थिए । वीरप्पनकी श्रीमतीका अनुसार उनलाई केही दिन अगाडि गिरफ्तार गरेर मारिएको थियो । वीरप्पनले प्रहरीलाई यदि कुनै विषयमा आफूलाई फसाइए हरेक प्रहरी अधिकृतको इमान्दारितामा औंला उठाउन सक्ने भनेर चेतावनी दिएका कारण उनको हत्या गरिएको बताइन्छ ।

 

 

 

Logo