केन्द्रबिन्दु सम्वाददाता । २ साउन, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई दवाव दिने उद्धेश्यले निर्वाचन आयोगसँग आग्रह गरेको छ ।
एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङको नेतृत्वमा गएको टोलीले सोमबार निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी सबै तहको निर्वाचन सम्पन्न गराउने दायित्व पुरा गर्न सरकारलाई निरन्तर दवाव दिइरहन आग्रह गरेको हो । समयमै सबै तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई दवाव दिइरहन निर्वाचन आयोगलाई आग्रह गरिएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले बताउनु भयो । उहाँले निर्वाचन सम्पन्न गराउने आधिकारिक निकाय निर्वाचन आयोग भएको पनि स्पष्ट पार्नु भयो । निर्वाचन आयोगले माघ ७ गते भित्र प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारण गर्न सरकारलाई आग्रह गर्दै आएको छ । उपनेता नेम्वाङले निर्वाचनका लागि आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारणको काम छिटो सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई दिँदै आएको दवावलाई एमालेले सकारात्मक रुपमा लिएको पनि स्पष्ट पारेको छ ।
एमालेले निर्वाचन सम्पन्न भईसकेका जिल्लाहरुमा जिल्ला समन्वय समिति गठन अविलम्ब हुने गरी काम गर्न पनि निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ । त्यसैगरी मतदाता नामावली अध्यावधिक गर्ने काम आम मतदाताको सुविधा, सहजता र सरोकारलाई ध्यानमा राखेर पर्याप्त समय र उपयुक्त तथा आवश्यक प्रक्रिया अघि बढाउन पनि निर्वाचन आयोगलाई एमालेले सुझाव दिएको छ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम आईतबारबाट सुरु गरिसकेको छ । निर्वाचनमा कोही पनि नछुटून भन्ने कुरामा सचेत भएर मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको एमाले संसदीय दलका उपनेता नेम्वाङले बताउनु भयो ।
निर्वाचन आयोगले भने साउन १५ गते भित्र मतदाता नामावली अध्यावधिक गर्ने कार्यतालिका अनुसारनै अघि बढ्ने र त्यसो गर्दा समस्या देखिए समाधान गर्ने प्रतिवद्धता जनाईसकेको छ ।





























प्रतिक्रिया