केन्द्रबिन्दु संवाददाता । २ साउन, काठमाडौं ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी रणनीति तयार पार्न आन्तरिक छलफल सुरु गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबारबाट सुरु भएको पार्टी सचिवालयको विस्तारित बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी रणनीति तयार पार्न छलफल सुरु गरिएको हो । छलफलमा आउने सुझावको आधारमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समेत रणनीति तय हुने गरी छलफल अघि बढाइएको पार्टीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो ।
बैठकमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेपनि पार्टीको एजेन्डाको भने जित भएको दावी गर्नु भएको थियो । उहाँले स्थानीय निर्वाचनको बस्तुनिष्ठ समिक्षा गरी आगामी रणनीति तय गन बैठक बोलाइएको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष दाहालले सरकारमा पार्टीको सहभागिताको विषयमा पनि खुलेर छलफलमा भाग लिन पार्टीका नेताहरुसँग आग्रह गर्नु भयो ।
बैठकमा पार्टीका जिल्ला इन्चार्जहरुले स्थानीय तह निर्वाचनको रिर्पोटिङ गर्नेछन । रिर्पोटिङ सकिएपछि अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्रले पार्टीको संगठन अस्तव्यस्त भएकाले पनि पार्टीले अपेक्षा गरे अनुसार स्थानीय तह निर्वाचनमा जीत हासिल गर्न नसकेको प्रारम्भिक टिप्पणी गर्दै आएको छ ।





























प्रतिक्रिया