हामीले हरेक दिन जस्तै आज पनि दिनभरिका मूख्य समाचार प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पमकल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपालमा ठूलो राजनैतिक भूमरिमा फस्ने बताएका छन् । यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन अवधी लम्ब्याउन खोजेको र त्यो पूरा हुन नदिने पनि ठोकुवा गरे ।
सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरु आन्दोलित भइरहेका बेला, म्यानमारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ । यद्यपी दलहरूले सेनाको आग्रहलाई अस्वीकार गरिदिएको छ । सेनाकै नियन्त्रणमा रहेकी म्यान्मारकी तत्कालीन स्टेट काउन्सीलर आङ साङ सुकीले पनि सेनाको सबै कदम र आह्वान गलत भएको भन्दै त्यस विरुद्ध लाग्न आह्वान गरेकी छन् । म्यानमारमा सैन्य शासनविरुद्ध नागरिकहरु सडकमा ओर्लिएका छन् भने, प्रहरी र नागरिक बीच तनावसमेत उत्पन्न भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांका अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि विप्रेषण अर्थात रेमिट्यासमा भने वृद्धि भएको राष्ट्रबैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आवको आर्थिक विवरण अनुसार सो अवधिमा श्रम स्वीकृति लिने नेपालीको संख्या ७७.६ प्रतिशतले कमि आउँदा विप्रेषण आप्रवाहमा भने ११.१ प्रतिशतले वृद्धि भएको देखिएको हो । यस्तै नेपालमा वस्तु आयातमा ४.८ प्रतिशतले गिरावट आउँदा, निर्यातमा भने ६.१ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्रको जग दह्रो बनाउँनकै लागि भएपनि राजतन्त्र नल्याई सुख नहुने बताएका छन् । प्रजातन्त्रको जग दह्रो बनाउँन कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै अध्यक्ष राणाले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफूहरुको मुद्धाले प्राथमिकता पाउने जिकिर पनि गरे । यस्तै अर्का अध्यक्ष कमल थापाले केही वर्ष भित्रमै असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना गराउने दावीसमेत गरे ।
सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा गर्ने घोषणा गरेको छ । यसैबीच निर्वाचनको तयारीका बारेमा प्रधानमन्त्री केपी शर्माओलीले आजै आयोगसँग छलफल गरि अहिलेसम्म गरेको तयारी सन्तोषजनक रहेको र निरन्तर अघि बढ्न सुझाव दिएका छन् । निर्वाचन आयोगले पनि तोकिएकै मितिमा निर्वाचन गराउन आयोग तयार रहेको उल्लेख गरेको छ ।





























प्रतिक्रिया