प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।
भेटमा उनीहरुबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री ओलीले राजदूत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गरे ।
उनले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनु पर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री ओलीले दुई देशबीच कूटनीतिक सम्बन्ध ६२ वर्ष अघि स्थापना भए पनि यी दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गरे। यस सम्बन्धलाई थप उचाइ दिन नयाँ सम्भावना पहिल्याउनु पर्ने धारणासमेत उनले राखे ।
भेटका क्रममा राजदूत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गरे।





























प्रतिक्रिया