नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार (आज) दिउसो २ बजे बस्दैछ । कांग्रेसले ०७७ फागुन ७ गतेदेखि १० गतेसम्मका लागि आव्हान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको बताए ।
बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने उनले बताए। संसद विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए।
यस्तै गत पुस ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले संसद विघटनलाई अवैधानिक, अलोकतान्त्रिक र राजनीतिकरुपमा प्रतिवाद गर्ने निर्णय अनुसार विभिन्न कार्यक्रमहरु गरेको र ती कार्यक्रमहरुको समीक्षासमेत बैठकमा हुने पनि प्रवक्ता शर्माले बताए ।





























प्रतिक्रिया