नेकपाको प्रचण्ड माधव समूहले आजदेखि चौथो चरणको आन्दोलन गर्दैछ । फागुन २ गते प्रचण्ड माधव समूहले सरकारको प्रतिगमनविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको थियो ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड माधव समूहले फागुन ५ (आज) देखि १५ गतेसम्म काठमाडौं लगायत मुलुकभर विरोध प्रदर्शन, सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको हो । जस अनुसार १५ गतेसम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिक जसो विरोध प्रदर्शनका कार्यक्रम हुने भएका छन् । प्रचण्ड माधव समूहले प्रतिगमनविरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा ठूलो विरोध प्रदर्शन गर्ने भएको छ । संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमनविरुद्ध फागुन ७ देखि १५ गतेसम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ ।
फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध वृहत अन्तर्क्रिया गर्ने , फागुन ६ गते प्रतिगमन, मंहगी र भ्रष्टाचारविरुद्ध टुँडिखेल वरिपरि मानवसाङ्लोसहित विरोध अपरान्ह १ घण्टा विरोध प्रदर्शन गर्ने, फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश जिल्ला कमिटीले प्रतिगमनविरुद्धका कार्यक्रम गर्ने, फागुन ७ गते मुलुकभरका सबै पालिकाका वडा कार्यालयमा विरोध प्रर्दशन गर्ने भएको छ । यस्तै फागुन ९ गते प्रतिगमन र महिला हत्या, हिंसा एवं बलात्कार विरुद्ध काठमाडौं उपत्यकासहित देशव्यापी प्रदर्शन गर्ने, फागुन १० गते दलित मोर्चाको तर्फबाट काठमाडौं उपत्यकासहित देशव्यापी विरोध गर्ने, फागुन ११ मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु पीछडिएको क्षेत्र लगायत उत्पीडित समुदायको पहिचान झल्किने झाँकीसहित प्रदर्शन गर्ने, १४ गते काठमाडौंमा वृहत युवा र्याली र १५ गते किसान सुकुम्बासी मोर्चाको तर्फबाट विरोध कार्यक्रम गरिने भएको छ ।
प्रचण्ड माधव-समूहले नेपालगञ्ज र जनकपुरमा पनि ठूलो सभा गर्ने तयारी गरेको छ। ती स्थानमा गरिने सभाको मिति पछि टुंगो लगाउने केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक र निरंकुश कदम, अलोकतान्त्रिक ढंगले जारी गरेको अध्यादेशमार्फत संबैधानिक निकायका पदाधिकारी नियुक्त गरि संविधान र कानूनको ठाडो उल्लंघन गर्ने काम भएको भन्दै ती सबै नियुक्ति खारेजी गरि संविधान एवं कानून कार्यान्वयनको अवस्थामा ल्याउन आफूहरुले देशव्यापी संघर्षको कार्यक्रम गरेको नेता भट्टराईले बताए ।
गत आइतबार विहान पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रमलाई पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो । प्रचण्ड माधव समूहले पुस ५ गते देखि लगातार संघर्षका कार्यक्रम संञ्चालन गर्दै आएको छ । पुस १४, माघ ९ र माघ २८ गते काठमाडौंमा विरोधसभा गरेको यो समूहले काठमाडौं बाहिर पनि दैनिकजसो विरोधसभा गर्दै आएको छ । माघ २२ गते यस समूहले आमहडताल पनि गरेको थियो ।































प्रतिक्रिया