केन्द्रबिन्दु बुलेटिन : ‘निर्वाचनको आन्तरिक तयारी पूरा’-आयोग (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ‘निर्वाचनको आन्तरिक तयारी पूरा’-आयोग (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन प्रमुख समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनको रुपमा प्रशारण गर्ने गरेका छौं । आज पनि हामीले दिनभरका मूख्य समाचारहरुलाई प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका दलहरूले केपी ओली सरकारले निर्वाचन गराउने विषयमा संशय व्यक्त गर्दै आइरहेका बेला निर्वाचन आयोगले भने निर्वाचन आन्तरिक तयार सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पाँचौं निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी पूरा भएको बताएका हुन् । 

नेपालमा कोरोना भाइरसको प्रभाव कम हुँदै जाँदा वस्तु आयातमा वृद्धि भएको भन्सारविभागले जनाएको छ । विभागको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७७/७८ को साउन महिना यतामात्र ८ खर्ब तीन अर्ब बढीको वस्तु आयात भएको छ । गत माघ महिनामा मात्रै एक खर्व ४२ अर्ब बढीको वस्तु आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो । सो पदमा सरकारले आजै राजेश झा नियुक्त गरिएको छ । यता, पदमुक्त भएका परियारले भने राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले संविधानको परिपालनामा सरकारको पूर्ण प्रतिबद्धता रहेको पनि उल्लेख गरे ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटहरुको बहस शुक्रबार सकिएको छ । शुक्रबार सर्वोच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा गएकी गीता पाठक संग्रौलाले बहस गरेपछि संसद विघटन मुद्दाको बहस सकिएको हो । बहस सकिएपछि सर्वोच्चले सोबारसम्म बहस नोट पेश गर्ने समय दिएको छ भने बहसको निर्णय मिति नतोकिएका कारण ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्ने सर्वोच्चले जनाएको छ । 

Logo