प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन् ।
शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताले निर्वाचन आयोगको तयारी थाहा नपाएको बताए । निर्वाचन आयोगले जनताले थाहा पाउने गरी समयमै निर्वाचन गर्न तयारी गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिन अघि नै अब निर्वाचनको तयारी गर्नुस् भन्या छु । मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन ।”
उनी थप्छन्, “केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन । जनतालाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन । जनताले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै निर्वाचन गर्ने गरी खुलाउनुपर्छ । यहाँ कतिपय तत्वहरुले यो निर्वाचन घोषणा गरेको निर्वाचन गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन् । तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने म चाहान्छु ।”
प्रधानमन्त्री ओलीले चुनाव गराउँदा संविधान नमिचिने बताए । “वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?” उनले प्रश्न गरे । उनले भने, “चुनाव हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढ वर्ष पछि त लोकतन्त्र कुनै हालतमा बाच्ने भएन नि त नेपालमा ।”
प्रधानमन्त्री ओलीले चुनावले लोकतन्त्र समाप्त नहुने दाबी गरे । लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन थाल्यो भने जनताको बिचमा जानुपर्ने उनको भनाए छ ।





























प्रतिक्रिया