केन्द्रबिन्दु बुलेटिन : मेलम्ची खानेपानीको सुरुङमा भाेलिदेखि पानी हालेर परीक्षण गरिने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : मेलम्ची खानेपानीको सुरुङमा भाेलिदेखि पानी हालेर परीक्षण गरिने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं , आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबारदेखि पानी हालेर परीक्षण गरिने भएको छ । यसका लागि खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक प्राविधिकको काम पुरा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आगामी बैशाखसम्ममा काठमाडौंका घर–घरमा पानी पुर्‍याइने योजना छ ।

म्यानमारमा भएको सैन्य ‘कु’विरुद्धको प्रदर्शनमा गोली चल्दा त्यहाँ दुई जनाको मृत्यु हुनुका साथै ३० जना बढी घाइते भएका छन् । सैन्य ‘कु’विरुद्ध म्यान्मारको दोस्रो ठूलो सहर म्यान्डलेमा शनिबार भएको विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको थियो ।

सरकारले स्पष्ट निर्णय नगर्दा वन पैदावार सदुपयोगमा समस्या उत्पन्न भएको छ । संघीय सरकारको मन्त्रिपरिषद बैठकले स्पष्ट निर्णय नगर्दा देशभरका वन पैदावार सदुपयोगमा समस्या भएको सरोकारवाला संस्थाहरूले उल्लेख गरेका छन् । गत माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरे पनि सामुदायिक वन समूहको वन पैदावार सदुपयोगबारे स्पष्ट निर्णय नगर्दा वन व्यवस्थापन र कटान भएका काठको सदुपयोगमा समस्या परेको हो ।

नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका हुन् ।

यता, प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका हुन् । 

Logo