प्रधानमन्त्री ओलीको आज ७० औं जन्मदिन, यस्तो छ उनको राजनैतिक पृष्ठभूमि 

प्रधानमन्त्री ओलीको आज ७० औं जन्मदिन, यस्तो छ उनको राजनैतिक पृष्ठभूमि 

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आज ७० औं जन्मदिन । ओलीको जन्म तेह्रथुमको ईवा गाउँ पञ्चायतमा वि.सं. २००८ सालमा भएको हो । उनी मोहनप्रसाद ओली र स्व. मधु ओलीका सन्तान हुन् । 

आज ओलीको जन्मदिनका अवसरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जाल र टेलिफोनमार्फत शुभकामना दिइरहेका छन् । 

२०७० सालमा पहिलोपटक निजी निवास बालकोटमा जन्मदिनको अवसरमा भोज आयोजना गरियो । कम्युनिस्ट नेताले जन्मदिन बनाएर शाही प्रवृत्ति देखाएको भन्दै आलोचना भयो । अर्को वर्ष उनले जन्मदिनको कुनै कार्यक्रम राखेनन् । तर, लोक संगीतकर्मीहरुसमेतलाई लिएर निकट कार्यकर्ता र शुभेच्छुक बालकोट पुगेपछि उनी जन्मदिन मनाउन सरिक भएका थिए ।

गत वर्ष पनि उनको जन्मदिन विवादित बन्यो । नेपालको नक्सा अंकित केक काटेर खाएको भन्दै उनको व्यापक आलोचना भएको थियो ।

वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओलीको बाल्यकाल कष्टकर थियो । सामान्य गाउँले परिवारमा जन्म लिएका ओलीले मातृप्रेम पाउन सकेनन् । बाल्यकालमै आमा मधु ओलीको निधन भएपछि पिता मोहनप्रसादले उनको रेखदेख गरे । १४ वर्ष जेल जीवन बिताएका ओली २०२३ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् ।

२०२८ सालमा जिल्ला कमिटी सदस्य र २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख बनेका ओली २०४४ सालमा जेलबाट छुटेपछि तत्कालिन मालेको केन्द्रीय कमिटी सदस्य भए । २०४८ सालदेखि एमालेको स्थायी कमिटी सदस्य रहेका ओली २०७१ सालको असारमा भएको नवौं महाधिवेशनबाट एमाले अध्यक्ष निर्वाचित भएका थिए ।

२०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा झापा–६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा भने झापा ७ बाट पराजित भए । उनी २०५१ सालमा गृहमन्त्री र २०६४ सालमा उपप्रधान एवं परराष्ट्रमन्त्री बनेका थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि एमाले संसदीय दलका नेता चुनिएका ओली पहिलो पटक २०७२ असोज २४ गते मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका थिए । ओली उखानटुक्का प्रयोग गरेर व्यंग्यवाण प्रहार गर्न पनि खप्पिस छन् । विपक्षीलेसमेत उनलाई प्रष्ट र वैचारिक अडान भएका नेता मान्छन् ।

कुनै बेला माओवादीका कटु आलोचक ओली दुवै पटक माओवादीकै समर्थनमा प्रधानमन्त्री भएका हुन् । तर यतिबेला एकिकृत भएर बनेको नेकपा करिब करिब फुटको संघारमा छ । उनी हाल नेकपाका अध्यक्ष हुन् । 

Skip This
Skip This
Logo