संसद् पुनर्स्थापनासँगै सत्ता गठबन्धनका लागि दलहरूको दौडधुप सुरु

संसद् पुनर्स्थापनासँगै सत्ता गठबन्धनका लागि दलहरूको दौडधुप सुरु

केन्द्रबिन्दु
0
Shares

मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेसँगै नेपाली राजनीति नयाँ मोडबाट अघि बढेको छ । सर्वोच्चको फैसलासँगै केपी ओली नेतृत्वको सरकारको अवसान हुने संकेतसँगै नयाँ गठबन्धनको सरकार निर्माणका लागि दलहरूको दौडधुप सुरु भएको हो । 

त्यसका लागि नेकपा प्रचण्ड–नेपाल समूहले सरकार निर्माणका लागि छलफलको प्रारम्भ गरिसकेको छ । त्यसै क्रममा आज बुधबार बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेर अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सरकार गठनबारे छलफल गरेका हुन् ।

यस अघि प्रतिनिधिसभाको पुनर्स्थापनाको फैसला आएसँगै बीबीसीसँगको अन्तर्वार्तामा प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणको संवादको थालनी आफ्नो पार्टीले सुरु गर्ने उद्घोष गरे अनुसार बुधबार नै प्रचण्ड र माधव देउवा भेट्न बुढानिलकण्ठ पुगेका हन् ।

यद्यपि प्रचण्डले मंगलबारसाँझ बीबीसीसँग कुराकानी गर्दै आफू प्रधानमन्त्रीको दौडबाट भने टाढै रहने बताएका थिए । प्रचण्डले आफूले प्रधानमन्त्रीको चाहाना नराखेको बताईरहँदा कांग्रेस सभापति देउवासँगको आजको भेटमा समसामयिक राजनीतिक विषयमा करिब आधा घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी गराए । स्वकीय सचिव देउवाले सञ्चार माध्यमसँग कुरा गर्दै प्रचण्ड र माधवकुमार नेपालले मिलेर जाऔँ भन्ने प्रस्ताव लिएर आउनुभएको र सभापतिले भने दलभित्र छलफल गरेर निर्णयमा जाने विषयमा कुराकानी भएको जानकारी दिए । 

यस्तै, प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटाले नेताहरूबीच समसामयिक राजनीतिक विषयमा विशेष कुराकानी भएको बताए । प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि संवाद सुरु गर्न बताए अनुसार उनले त्यो सहमतिको सरकार कसको नेतृत्वमा हुने भन्ने विषयमा भने कांग्रेससँगै जनता समाजवादी पार्टीसँग पनि छलफल हुने बताएका छन् । 

मंगलबारको सर्वोच्चको परमादेश अनुसार संसद् २४ फागुनमा बस्नै पर्छ ।  आगामी संसद् बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव समूहको छ । प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएमा संसदमा बहुमतको प्रधानमन्त्री निर्वाचन गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । त्यसका लागि दलहरूभित्र नयाँ गठबन्धनको सरकार निर्माणमा लागि दलहरूको दौडधुप सुरु भएको हो ।
सर्वोच्चको फैसलासँगै यस अघि तय गरिएका सबै विरोधका कार्यक्रमहरु स्थगित गरिएको प्रचण्ड नेपाल समूहले जनाएको छ । 

Logo