‘मैले सर्वोच्च अदालतको मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन’ : प्रचण्ड

‘मैले सर्वोच्च अदालतको मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन’ : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नकेपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार सर्वोच्च अदालतमा पुगेर आफूमाथि लागेको अवहेलनाको मुद्दामा लिखित जवाफ पेश गरेका हुन् । 

सर्वोच्चमा जवाफ पेश गरेपछि प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको मानहानी हुने खालको कुनै अभिव्यक्ति नदिएको र आफूमाथि लगाइएको आरोप गलत छ भनि लिखित जवाफ बुझाएको बताए । उनले भने,  ‘अदालतको मानहानी बारे जे रिट परेको थियो त्यसको बारेमा आफैँ उपस्थित भएर लिखित जवाफ दिने क्रममा आज सर्वोच्च अदालतमा उपस्थित भएर मैले आफ्नोतर्फबाट अदालतलाई मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन । म माथि लगाइएको यो आरोप गलत छ भन्ने स्प्रिटमा लिखित जवाफ बुझाएर आएँ ।’

नेकपाका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले सरकारले संविधान नै नष्ट गर्ने गरि संविधानविरुद्धको काम गरेकाले आफ्नो दलीय कर्तव्य अनुरुप जनतालाई सुशुचित गरेको तर अदालतको गरिमा, स्वच्छता र स्वतन्त्रतालाई आक्षेप नलगाएको भनि अध्यक्ष प्रचण्डले लिखित जवाफ पेश गरेका बताए । 

गत माघमा प्रतिनिधिसभा विघटनको विरोध गर्न विराटनगरमा आयोजित सभामा प्रचण्डले अदालतको अवहेलना हुने खालको अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अधिवक्ता समिर हायूले हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत बुधबार प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश जारी गरेको थियो  ।

Logo