काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गरिरहेको कमल पोखरीका बारेमा धेरै भ्रम सिर्जना गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । काठमाडौँका स्थानीय जनता, भाषा तथा जातिसम्बन्धी ‘खलः पुच’ हरूलाई समेत भ्रमित तुल्याउन खोजिएकाले तसर्थ यसतर्फ सबै सचेत हुन उनले आग्रह गरेका छन् ।
आइतबार जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिर संरक्षण तथा प्रवलीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मत सम्भार तथा जीर्णोद्वारका लागि महानगरको दायित्व र सम्पादन भएका काममा बारेमा उल्लेख गर्दै उनी भन्छन्, ‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस् भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ । कमल पोखरी पुनर्निर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैनन् । यस प्रकारको विरोधलाई हामीले कसरी बुझ्नु ? यो त विरोध मात्र हो ।’
पोखरी पुननिर्माण गर्दा क्षेत्र बढाउन लागिएको प्रसङ्ग उल्लेख गर्दै शाक्यले महानगरले कमलपोखरी बिगार्न वा नास्न खोजेको नभई पहिलेभन्दा पोखरीको आकार बढाउन डिलमा रहेको प्रहरी वृत्त स्थानान्तरण गरिएको उनको तर्क छ । उनले क्लबको भवन हटाउने काम भएको र राजनीतिक अभिष्ट भएका मानिसहरू अहिले सम्पदा अभियन्ताको खोल ओढेर विरोधमा आएको महसुस भएको आरोप लगाए ।
सो अवसरमा मेयर शाक्यले कमी कमजोरी भएको भए तथ्यमा औल्याउन आग्रह गरे । स्थानीय सांस्कृतिक जीवनलाई जोगाउन महानगरले लगानी गरेको उल्लेख गर्दै बर्षौंदेखि आएको चलनलाई बचाउन पाटी, सत्तललगायत सांस्कृतिक संरचना निर्माण गरिने उनले जानकारी दिए । सम्पदा बचाउँछौं भनेर जिम्मा पाएका निकाय तिनै संरचनालाई भाडा लगाएर आय गर्ने गरिरहेको उनको आरोप छ । अब महानगरले त्यसो गर्न नदिने उनको दाबी छ । पुरातत्व विभागले काम गर्न रोकेको अपजस महानगरले व्यहाेर्नु परेको उनले दुखेसो पोखे ।































प्रतिक्रिया