राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले केन्द्रविन्दुलाई जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । सर्वोच्चले ती निवेदनमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठहर्याउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।
सर्वोच्चले संसद पुनःस्थापनासँगै १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोही बमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।






























प्रतिक्रिया