नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव समूहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् ।
विप्लव नेतृत्वको समुहसँग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेसँगै उनीहरुले सरकार र विप्लव पक्ष दुवैलाई प्रचारवाजी र जनताको भावनासँग खेल्ने काम नगर्न सचेत गराएका हुन् । विप्लव नेतृत्वको समूहसँग वार्ता गर्ने सरकारको कदमलाई नेपाली कांग्रेसले स्वागत गरेपनि शक्ति संचयको रुपमा प्रयोग नगर्न विप्लव पक्षलाई सचेत गराएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विद्रोहको अन्ततः निकास शान्तिपूर्ण राजनीति नै भएकाले वार्ताको प्रयास सकारात्मक भएको प्रतिक्रिया जनाए । उनले बदलिँदो राजनीतिक घटनाक्रमले एउटा आकार नलिँदै वार्ता टोली गठन गरेर प्रचारवाजी मात्रै गर्न खोजिएको भए त्यस किसिमको गल्ती नगर्न सरकारलाई आग्रह पनि गरे ।
विप्लव समेतको सहभागितामा भएको जनयुद्ध र नेपाली कांग्रेसलगायत दलहरुले गरेको शान्तिपूर्ण आन्दोलापछिको बाह्रबुँदे समझदारी र सोही समझदारीको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको परिधिभित्रैबाट समाधान खोजी देशलाई निकास दिन पनि उनले अपिल गरे ।
प्रचण्ड–माधव समूहका नेता गंगाालाल तुलाधरले सरकारले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउन नभई अहिलेको राजनीतिक घटनाक्रमबाट ध्यान अन्यत्र मोड्नका लागि गरिएको ‘प्रपञ्ज’ को संज्ञा दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट छ भन्नु, सर्वोच्च अदालतले मैले भनेजस्तो गर्दिएन भने आन्दोलन गर्छु भन्नु र अहिले वार्ताका लागि टोली गठन गर्नु प्रधानमन्त्रीको विक्षिप्त मानसिकताको श्रृंखलाकै रुपमा आएको टिप्पणी उनको छ ।































प्रतिक्रिया