नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड–माधव पक्ष संकटमा परेको जिकिर गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक अन्तर्क्रियामा नेता बस्नेतले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न चाहाने प्रचण्ड–माधव पक्षलाई नै संकट परेको बताएका हुन् । उनले प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओली विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताए ।
नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतिपूर्ण हुने बताए। फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सिमित हुने पनि उनको भनाइ छ ।
प्रचण्ड–माधव पक्षले औपचारिकरुपमा पार्टी फुटेको कुरालाई कतै दर्ज नगराएमा बहुमत छ भनिएको केन्द्रीय कमिटी सदस्य र सांसदहरु केपी शर्मा ओली पक्षमा आउने उनले दाबी गरे । प्रचण्ड–माधव पक्ष मुद्दा, राजनीति, कानुनी हैसियत र अंक गणितिय हैसियतमा संकटमा परेको उनको भनाइ थियो ।































प्रतिक्रिया