नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरूलाई पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै अनुशासनको कारबाही गरिएको बताएको छ ।
बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको नेकपाको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । सो समूहका नेता भीम रावलले कारबाही गरिएका नेताहरू मध्ये संसदीय दलका उपनेता नेम्वाङलाई ६ महिनाका लागि स्थायी कमिटीको सदस्यबाट निलम्बन गरिएको बताए ।
उनलाई पार्टीको विधान विपरित गतिविधि तीव्र पारेको र गलत प्रचार गरेको भन्दै संसदीय दलको उपनेताको पदबाट तुरुन्त राजीनामा दिन केन्द्रीय कमिटीको बैठकले निर्देशन दिएको रावलले जानकारी दिए । उक्त समूहले हालै प्रधानमन्त्री केपी ओली समूहले नियुक्त गरेको प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीलाई पनि कारबाही गरिएको बताएको छ ।
त्यसबाहेक पूर्वमन्त्री महेश बस्नेत, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकासमन्त्री प्रभु शाह र नेता कर्णबहादुर थापालाई केन्द्रीय कमिटीको सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको पनि जनाइएको छ । यसअघि सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको बताएको थियो ।
माधव–प्रचण्ड समूहले नेता समूहलाई कारवाही गरेसँगै ओली समूहकी नेतृ शान्ता चौधरीले अर्को पक्षको कारबाहीको कुनै औचित्य नरहेको तर्क राखेकी छिन् । उनले मूलधारको पार्टीले कारबाही नगरेकाले अब सडक र चौताराबाट एउटा कुनै समूहले कारबाही गरेको कुरालाई आफूहरुले नचिन्ने र आफ्नो जिम्मेवारीमा फरक नपर्ने समेत उल्लेख गरेकी छिन् ।
बुधबारको प्रचण्ड–नेपाल समूहको बैठकमा पार्टीका दुई अध्यक्षहरूले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको खारेजी पछिको राजनीतिक घटनाक्रमबारे बैठकलाई जानकारी गराएका थिए ।





























प्रतिक्रिया