हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये सरकार र विप्लव समूहबीच बुधबार पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश सल्लाहकार डा राजन भट्टराईको सहभागीता थियो भने विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र उदय चलाउने दिपक सहभागी थिए । वार्ता सकारात्मक दिशा उन्मुख रहेको बताइएको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडीले पाकिस्तानको ‘राष्ट्रिय महिला वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्ने भएका छन् । मासा क्लबले एन्फालाई खेलाडी पठाउन आग्रह गरेसँगै एन्फाले ४ खेलाडीहरू एन्जिला तुम्बाप्पो सुब्बा, गिता राना, अनिता केसी र सरु लिम्बुलाई खेलमा पठाउने तयारी गरेको थियो । प्रतियोगिताका लागि उनीहरु बिहीबार पाकिस्तानतर्फ जानेछन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय समितिका उपनेता सुवासचन्द्र नेम्वाङसहित अन्य नेताहरुलाई कारवाही गरेको छ। बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय बैठकले उनीहरु पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै अनुशासनको कारवाही गरिएको जानकारी गराएको छ । प्रचण्ड–माधव पक्षीय नेकपाले नेताहरूलाई कारबाही गरेका सम्बन्धमा प्रधानमन्त्री ओली पक्षीय नेकपाले भने उक्त कारबाहीबाट केही फरक नपर्ने प्रतिक्रिया दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आवश्यकता परे जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । बुधबार चितवनमा कांग्रेस नेता एकनाथ रानाभाटको १० औं पूण्यतिथिमा आयोजित शोकसभालाई सम्बोधन गर्दै सभापति देउवाले आफूले नेतृत्व पाए कांग्रेसकै मान्छेलाई फाइदा पुग्ने दावी गरे । यद्यपि, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेससँग भएको सांसदहरूको संख्याका आधारमा आफ्नो हैसियतमा रहेर प्रतिपक्षकै भूमिकामा रहनु पर्ने उल्लेख गरे । उता रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद मोहम्मद आफताव आलमलाई रिहा गराउन प्रक्रियागत प्रयासमा रहेको बताए ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा लगायत प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । सरकारले संसद अधिवेशन वोलाउने निर्णय गरेसँगै सबै सांसदले अनिवार्य कोरोना खोप लगाउनु पर्ने प्रावधान ल्याइएको थियो । सोही बमोजिम सांसदहरूले बुधबार निजामती अस्पताल पुगेर खोप लगाएका हुन् । खोप लगाइसकेपछि सभामुख सापकोटाले खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले निर्धक्क भएर सबैले लगाउन सक्ने विश्वास व्यक्त गरे ।































प्रतिक्रिया